लोड हुँदैछ...

मेनु

काजकिरियाबाट बञ्चित गराउनेलाई कार्वाही गर्न माग

काजकिरियाबाट बञ्चित गराउनेलाई कार्वाही गर्न माग

उर्लाबारी । सानो जातको भएकै कारण मोरङको उर्लावारी नगरपालिका ४ आइतवारेकी ३० वर्षीया कोपिला बर्देवालाई ससुराको अलग्गै किरिया बस्न बाध्य बनाउनेलाई दलित अधिकारकर्मीहरुले कार्वाहीको माग गरेका छन् ।

क्रेज नेपालका अध्यक्ष गोपाल नेपाली, मिक्लाजुङ्ग युवा मञ्च अध्यक्ष विनोद दर्नाल र अधिकारकर्मी प्रदिप परिवारले संयुक्त विज्ञप्ती जारी गर्दै सानो जातकै कारण काजकिरियाबाट बञ्चित गर्ने परिवारलाई कार्वाहीको माग गरेका हुन् ।

कात्तिक १३ गते ७० वर्षको उमेरमा निधन भएका नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा दलित संघका केन्द्रिय सदस्य भिमलाल गहतराजको कान्छी बुहारी कोपिलालाई दमाई भएको कारणले परिवारले सामुहिक काजकिरिया गर्नबाट बञ्चित गरेको छ । यस्तो कार्य छुवाछुत र साँस्कृतिक अधिकार हनन् भएको ठहर अधिकारकर्मीहरुको छ ।

घटनाको स्थलगत अध्ययन, पीडित कोपिला बर्देवाको बयान, पीडक परिवार र प्रत्यक्षदर्शीहरुसँगको छलफलबाट स्वर्गीय भीमलालकी कान्छी वुहारी कोपिलामाथि जातीय विभेद भएको प्रष्ट भएको छ क्रेज नेपालका अध्यक्ष गोपाल नेपालीले बताउनुभयो । भिमलालका दुई जना श्रीमती संगोलमा काजक्रिया गरिरहेको भएपनि बुहारी कोपिलालाई सौतेनी मामिला भनेर सहभागी नगराउनुको कारण दमाईको छोरी भएकै कारण भएको अधिकारकर्मीहरुले बताएका छन् ।

जातीय विभेदको घटनालाई गहतराज परिवारले बिज्ञप्ती जारी गर्दै सौतनी समस्याले कान्छी बुहारीलाई सगोलमा काजकिरियामा सामेल गराउन नसकेको दावी गरेको छ । अधिकारकर्मीहरुले भने बिभेदको घटनालाई ढाकछोप गर्न गहतराज परिवार योजनावद्ध रुपमा लागेको बताएका छन् ।

घटनामा नेपालको संविधान २०७२, मानव अधिकार, जातीय विभेद तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को गम्भीर उल्लंघन भएकाले सबै दोषीहरुलाई कानुनी कार्वाही हुनुपर्ने उनीहरुको माग छ । सानो जातको भन्दै साँस्कृतिक अधिकारबाट बञ्चित गरेपछि एक्लै ससुराको काजकिरिया बार्न बाध्य भएकी परियार थरकी बुहारीलाई विश्वकर्मा परिवारले अझै सगोलमा सामेल गराउन मानेका छैनन् । तर, उनीहरुले कोपिलालाई बुहारी स्वीकार चाँही गरेका छन् ।

भीमलालाका कान्छा छोरा दिवससँग कोपिलाको १० वर्ष अघि विवाह भएको थियो । उनीहरुको ८ वर्षकी एक छोरी पनि छन् ।

दलित गैैरसरकारी सँस्था महासंघ प्रदेश १ का सचिव अमर वराइलीका अनुसार विश्वकर्मा एकता समाज लगायतका विभिन्न दलित अधिकारकर्मीहरुले आन्तरिक छुवाछुत नगर्न आग्रह गरेपनि गहतराज परिवारले सगोलमा कोपिलालाई सहभागी गराएको छैन । भीमलालका श्रीमतीहरु भीमादेवी र सुनिता, छोराहरु दिपक, जितेन्द्र, शम्भु र दिवस तथा बुहारीहरु बबिता, राधिका, मुना, राधा र तारा गहतराज सगोलमा काजकिरिया बसेका छन् । कान्छा छोराकी कान्छी बुहारी कोपिला भने एक्लै अलग्गै काजकिरिया गर्न बाध्य छन् ।

भीमराजका जेठा छोरा दिपक गहतराज दलित संघ उर्लाबारी नगर समितिका अध्यक्ष हुन् भने काजकिरियाबाट बञ्चित भएकी कोपिला नगर कोषाध्यक्ष हुन् । ससुराको निधनपछि सगोलमा काजकिरिया गर्न मुलघर पुगेकी कोपिलालाई परिवारले सानो जातको भएकै कारण अभद्र व्यवहार गदै साँस्कृतिक अधिकारबाट बञ्चित गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।