जग्गा हडप्न नपाएपछि श्रीमानको हत्या भएको दावी, प्रहरी भन्छः आत्महत्या हो

विराटनगर । विराटनगर महानगरपालिका १६ दरैया बस्तीको चौठीटोलमा बस्ने करनीदेवी ऋषिदेवेले जग्गा हडप्न खोज्नेहरुले आफ्ना ३० वर्षीय श्रीमान राजेश ऋषिदेवको हत्या गरेपनि उनीहरुलाई कुनै कानूनी कार्वाही नभएको गुनासो गर्नुभएको छ ।

मजदुरी गरेर कमाएको पैसाले टोलमा जोडेको एक कठ्ठा ऐलानी र ४ धुर नम्बरी जग्गामा स–परिवार बसोवास गर्दै आएकोमा श्रीमान राजेशको गत असार १९ गते छिमेकीहरुले कुटपिट गरेर हत्या गरेको २७ वर्षीया करनीदेबीको दाबी छ ।

पीडितको अनुसार छिमेकी गंगवा मण्डलले सो जग्गामा दाबी गर्दै आएका थिए । सोही विषयमा गत असार १९ गते जग्गा नापी भएको थियो । नापी गर्ने क्रममा ऋषिदेव परिवारको जग्गामा भएको घर आफ्नो भन्दै छिमेकी मण्डलले भत्काउन दबाब दिएका थिए । सोही दिन ऋषिदेव परिवारको घर अगाडि भएको दिनाभद्री भगवानको मन्दिर पनि उनीहरुले भत्काइदिएका थिए ।

आफूले रगतपसिना बगाएर जोडेको घर भत्काउन भनेपछि डकर्मीको काम गर्ने राजेशले प्रतिबाद गरेका थिए । सानो जाति भएर बढी मुख चलाएको र भनेको नमानेको भन्दै छिमेकीहरु कन्हैया मण्डल, देवान मण्डल, गंगवा मण्डल, हरेराम र अनिल मण्डलले मरणासन्न हुनेगरि कुटपिट गरेकोमा राजेशलाई सोहि दिन घरभित्रको कोठामा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

परिवारले छिमेकै कुटाइबाट राजेशको हत्या भएको र पछि कोठामा लगेर झुण्ड्याएको दाबी गर्दै किटानी जाहेरी दर्ता गराउन खोजेपनि प्रहरीले आधार र प्रमाण नभएको भन्दै किटानी जाहेरी दर्ता गर्न मानेन । प्रारम्भिक अनुसन्धानमै प्रहरीले घटनालाई आत्महत्या बताएको पीडितको गुनासो छ ।

प्रहरीले राजेशको मृत्यु आत्महत्याकै कारण भएको र हत्याको कुनै प्रमाण फेला नपरेको जनाएको छ । घटनाको अनुसन्धान गरेका इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर दिपक थापाले जग्गाको झगडामा कुटपिटमा घाइते भएपछि बैरागिएर राजेशले घरभित्र पसेर दैलो थुनेर आफै झुण्डिएर आत्महत्या गरेको दावी गर्नुभयो ।

मृतकको पोष्टमार्टम रिपोर्टमा पनि झुण्डिएर मृत्यु भएको भन्ने आएको प्रहरीले जनाएको छ । पोष्टमार्टमा प्रतिबेदनमा मृतक राजेशको शरिरमा कुटपिटको चोटपटक पाइएको थियो । तर, प्रहरीले त्यसमा पनि कुनै कार्वाही चलाएन ।

श्रीमानको मत्युपछि श्रीमती करनीदेबी ११, ९ र ७ वर्षका तीन जना छोराको बनिबुतो गरेर लालनपालन गरिरहेकी छन् । उनका अनुसार उनलाई गाउँमा बस्न पनि एकदमै असुरक्षा छ । रोजगारी नहुँदा छोराछोरी भोकभोकै सुत्न बाध्य छन् । उनले घटनाबारे सुक्षम छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोग र सरकारसँग आग्रह गरिरहेकी छन ।

जग्गा हडप्न खोज्नेहरुले श्रीमानलाई रडले टाउकोमा हानेर मरणासन्न कुटेको र घरभित्र ल्याएर झुण्ड्याइदिएको करिनाको दावी छ । श्रीमानको मृत्यु शोकले विक्षिप्त बनेकी उनी आजकल दलित संघसँस्थाहरुले आयोजना गरेको कार्यक्रम र बैठकहरुमा पुगेर रुँदै आफ्नो दुखेसो सुनाउने गर्छिन् ।

मुसहर संघ, मोरङका अध्यक्ष जितेन्द्र ऋषिदेव पनि राजेशको मृत्यु झुण्डिएर नभै कुटपिटबाट नै भएको दाबी गर्नुहुन्छ । प्रहरीलाई पटक–पटक अपराधिक घटना हो, गम्भीर अनुसन्धान गर्नुहोस् भनेर अनुरोध गरेपनि प्रहरीले वास्ता नगरेको उहाँको आरोप छ ।

मरणासन्न हुनेगरी कुटपिट गर्नेहरुलाई पक्राउ गरेर हत्या प्रयास वा आत्महत्या दुरुत्साहन आरोपमा मुद्दा पनि दर्ता गर्नुपर्नेमा प्रहरीले त्यसो नगरेको पीडित परिवराको भनाइ छ । पोष्टमार्टम रिपोर्टमा कुटपिट भएको स्पष्ट खुलेको भएपनि प्रहरीले कसैलाई पक्राउसमेत नगरेको उनीहरुले बताएका छन् ।

आइतबार, २३ कार्तिक, २०७७, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर