मोदीको पहलमा खोलाको किनारमा बस्ने सुकुम्बासीलाई पक्की घर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकास्थित सुनसरी–मोरङ सिचार्इं आयोजनाको नहरको डिलबाट विस्थापित भएका ३४ सकुम्बासी परिवारले नयाँ घर पाएका छन् ।

अतिविपन्न तथा सुकुम्वासी परिवारका लागि मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य सांसद अमनलाल मोदीको पहलमा ग्रामथान–७ मा एकीकृत नमुना बस्ती निर्माणपछि हस्तान्तरण गरिएको छ ।

नहरको डिलबाट दुई वर्षअघि विस्थापित भएका ३४ परिवारले टिनको छानो, एट्याच बाथरुम र शौचालयसहितको तीन कोठाको घर पाएका हुन् । उनीहरुलाई शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले घर हस्तान्तरण गर्नुभयो । एकीकृत बस्ती ३ करोड ४ लाख रुपैयाँ लागतमा निर्माण भएको हो ।

२०७५–७६ मा निर्माण सुरु गरिएको बस्तीको लागि सांसद मोदीले स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट १ करोड १९ लाख रुपैयाँ विनियोजन गर्नुभएको थियो । त्यस्तै तराई–मधेस समृद्धि कार्यक्रमबाट ६७ लाख ९ हजार र ग्रामथान गाउँपालिकाको १ करोड १७ लाख रुपैयाँ गालतमा बस्ती निर्माण भएको हो ।

सिचाईं आयोजनाको मोरङ ग्रामथान गाउँपालिका खण्डको नहरको डिलबाट विस्थापित भएकाहरुले नयाँ घर पाएपछि खुसी भएका छन् । मजदुरी गरेर गुजारा चलाउने स्थानीय प्रमिलाकुमारी चौधरीको परिवार नहरको डिलबाट लखेटिएपछि खोलाको छेउमा झुप्रो बनाएर बस्दै आएकोमा नयाँ घर पाएको छ ।

बस्तीसम्म पुग्नका लागि सडक पनि निर्माण गरिएको छ । बस्तीमा खानेपानी, विद्युत र शौचालय जडानको काम पुरा भएको छैन । खानेपानी र शौचालयको काम तत्काल सम्पन्न गर्ने ग्रामथान गाउँपालिका अध्यक्ष शिवनारायण माझीले जानकारी दिनुभयो ।

सुकुम्बासीको ३६ वटा घर निर्माण गरिएको भएपनि तयारी भएको ३४ वटा घर शुक्रबार एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको सांसद मोदीले जानकारी दिनुभयो । दुई वटा घर निर्माणधिन अवस्थामा छ ।

सुकुम्बासीहरूलाई बनाइदिएको पक्की घर हस्तान्तरण कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग वन, पर्यटन तथा वातवरण राज्यमन्त्री विजयी विश्वासलगायलको उपस्थिति रहेको थियो ।

शनिबार, २२ कार्तिक, २०७७, साँझको ०६:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर