प्रदेश १ मा एकैदिन दश जना संक्रमितको मृत्यु

विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा एकैदिन दश जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विराट मेडिकल कलेज बुढिगङ्गामा चार, न्युरो कोभिड अस्पतालमा दुई, नोबेल मेडिकल कलेजमा एक र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो । उता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा सुनसरीको इनरुवा नगरपालिका–१ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना देखिएपछि कार्तिक १४ गते अस्पतालमा भर्ना गरिएकी उनको दिउँसो २ः३० बजेतिर मृत्यु भएको हो ।

विराटमै सिराहाको सुखीपुरका ७४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक १५ गते अस्पताल भर्ना गरिएका उनको सोमबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिनुभयो ।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ४८ वर्षीय पुरुषको पनि विराटमा मृत्यु भएको छ । उनको सोमबार साँझ ७ बजेतिर मृत्यु भएको हो ।

विराटमै उपचाररत धरान–१६ का ७६ वर्षीय वृद्ध पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि कात्तिक ९ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ६ः३० बजेतिर मृत्यु भएको हो ।

यसैगरी सुनसरीको धरान–१५ का ६३ वर्षीय पुरुषको मंगलबार बिहान ३ः३० बजेतिर न्युरो अस्पतालमा मृत्यु भएको छ । असोज १७ गते कोरोना पुष्टि भएपछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुदै न्युरोमा ल्याईएका उनी जनता समाजवादी पार्टीका नेता हुन ।

न्युरोमै उपचाररत विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको छ । उपचारका क्रममा बिहान ३ः५० बजेतिर उनको मृत्यु भएको हो । उनको कात्तिक १४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

नोबेलमा विराटनगर महानगरपालिका–१५ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ । ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि मंगलबार बिहान अस्पताल लगिएको थियो ।

आकस्मिक कक्षमा उपचारकै दिउँसो ४ बजेतिर उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । मृत्युपछि महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उदयपुरको चौदण्डीगढी–६ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।

उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरान उपमहानगरपालिका–९ का ६१ वर्षीय पुरुष र मोरङ केराबारीका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरानका पुरुषको मंगलबार बेलुका र केराबारीका शिक्षकसमेत रहेका पुरुषको मंगलबार बिहान मुत्यु भएको हो ।

मङ्गलबार, १८ कार्तिक, २०७७, रातीको ०९:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर