ज्येष्ठ नागरिकलाई घरघरमै सम्मान

विराटनगर । ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर सम्मान गर्ने कार्यक्रम अघि बढेको छ । जेष्ठ नागरिक वडा कार्य समिति विराटनगर–११ ले त्यस्तो कार्यक्रमको थालनी गरेको हो ।

समितिले वडाभित्र बसोबास गर्ने ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकको जन्मोत्सवको अवसर पारेर घरमै पुगेर सम्मान गर्ने अभियान सुरु गरेको हो । विराटनगर–११ का वरिष्ठ समाजसेवी यादनरसिंह कार्कीलाई सम्मान गरेर समितिले अभियान सुरु गरेको छ । कार्कीको घरमै पुगेर समितिले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र समितिका अध्यक्ष ललित श्रेष्ठले सम्मान गर्नुभयो । सो अवसरमा वडाध्यक्ष न्यौपानेले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप भावीपुस्ताले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्छ,’ उनले भने, ‘ज्येष्ठ नागरिक भनेका सिंगो पुस्तक हुन् ।’ ज्येष्ठ नागरिकको योगदानलार्ई राज्यले समेत भुल्न नहुने उहाँको भनाइ थियो । समितिले सुरु गरेको अभियान प्रशंसनीय भएको बताउँदै आगामी दिनमा समेत निरन्तरता दिन वडाध्यक्ष न्यौपानेले आग्रह गर्नुभयो ।

त्यस्तै आयोजक संस्थाका अध्यक्ष ललित श्रेष्ठले वडाभित्र बसोबास गर्ने सबै ज्येष्ठ नागरिकको ८४ औं जन्मोत्सवमा विशेष कार्यक्रम गरेर सम्मान गर्ने बताउनुभयो । ज्येष्ठ नागरिक वडा समितिको आफ्नै भवन निर्माण गर्ने तयारी गरेको जानकारी दिँदै उहाँले त्यसका लागि सम्पूर्ण प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।

भवन निर्माणका लागि समाजसेवी चिरञ्जिवी दाहालले करिब ५० लाख रुपैयाँ बराबरको जग्गा उपलब्ध गराउनुभएको छ । चाँडोभन्दा चाँडो भवन निर्माण गरेर ज्येष्ठ नागरिकका लागि दिवा सेवाका साथै योग, ध्यान, भजनकीर्तनका साथै पुस्तकालयको समेत व्यवस्था गरिने समितिका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार भट्टराईले बताउनुभयो । भवन निर्माणका लागि दाताहरूबाट चन्दा प्राप्त भइरहेको र नक्सा तयार भएपछि करिब एक करोडको लागतमा भवन बनाउने उहाँले बताउनुभयो ।

बिहिबार, ०६ कार्तिक, २०७७, बिहानको ११:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर