दशगजामा नेपाली युवाको शव फेला

विराटनगर । नेपाल भारतको सीमा नाका दशगजादेखि दक्षिणमा एकजना नेपाली युवाको शव भेटिएको छ ।

विराटनगर–१६ को दक्षिण गेटदेखि करिब १ सय मिटर दक्षिण भारतको जोगवनीको रेल्वे स्टेशन छेउमा २५ वर्षीय युवाको आज बिहान शव भेटिएको हो ।

उनी लागूऔषध सेवनकर्ता रहेको खुलेको छ । मृतक युवा बुधबार जोगवनीमा लागूऔषध सेवन गर्न गएको बुझिएको छ । उनको नाम नखुले पनि इटहरी घर भएको स्थानीय बताउँछन् ।

मृतक युवाको शरिरमा चोटपटक पनि लागेको छ । शरीरको पछाडि ढाडमा चोट लागेको कारण रगत बगेको छ । कुटपिट गरि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । तराइबासी देखिने मृतक युवाको उचाइ ५ फिट ४ इन्च रहेको छ । उनको दुवै हातमा ट्याटु खोपेका छन् भने दाइने कानमा टप लगाएका छन् । मृतकको सनाखत भइ नसकेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिनुभयो । घटनास्थल भारतीय क्षेत्रमा पर्ने भएकोले भारतीय प्रहरीले अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

नेपाली युवाको मृत्युमा भारतीय प्रहरीले देखाएन चासो

मृत युवाको शरिर भरी चोटपटक भएकोले हत्या भएको हुनसक्ने आशंका गरिएको छ । हत्या भएको आशंका गरिए पनि भारतीय प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छैन । नेपाली युवा भएकोले प्रहरीले शव बुझेर नेपाल तिर लैजान दबाव दिएको प्रहरी स्रोतले बतायो । ‘नेपाली युवाको मृत्यु शंकास्पद देखिन्छ । घटना मुचुल्का उठाएर अनुसन्धान सुरू गर्नुपर्ने हो । भारतीय प्रहरीले शव बुझ्न दबाव दिने गरेका छन्,’ सुरक्षा स्रोतले भन्यो । बिहीबार विहान मृत अवस्थामा भेटिएपनि भारतीय प्रहरीले घटना मुचुल्का उठाएर शवलाई पोस्टमार्टम गर्न अहिलेसम्म पठाएको छैन । शव वेवारिसे अवस्थामा नेपाल भारतको सिमा स्तम्भ १८० नम्बर पिलरदेखि दक्षिणमै रहेको छ ।

बिहिबार, ०६ कार्तिक, २०७७, बिहानको १०:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर