विराटनगर । विराटनगर महानगरपालिका भित्रको सडक क्षेत्रमा जथाभावी फोहर फाल्नेलाई कारवाही हुने भएको छ । महानगरपालिका क्षेत्र भित्रको बजार क्षेत्रमा जथाभावी फोहर फाल्ने प्रवृत्ति बढेपछि फोहर मैला व्यवस्थापन ऐन २०६८ बमोजिम कारवाही गर्ने प्रकृया आरम्भ गरिएको छ ।
महानगरपालिका क्षेत्रमा वेस्ट म्यानिजमेन्ट ग्रुप नेपाल प्रा.लि., फोहर मैला व्यवस्थापन परियोजना विराटनगरले फोहोर व्यवस्थापन गर्दै आएको छ । अहिले विराटनगर बजार क्षेत्रमा पसल अगाडिको सकडमा फोहोर फाल्ने प्रवृत्ति बढ्दै गएको पाइएपछि कारवाहीको प्रक्रिया बढाएको वेस्ट म्यानेजमेन्ट ग्रुप नेपालका फोहर मैला परियोजना प्रमुख देवी आचार्यले जानकारी दिनुभयो ।
‘विराटनगरको बजार क्षेत्रमा सडकमै फोहर फाल्ने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘सकडमा फोहर फाल्ने व्यक्तिलाई पहिचान गरि कारवाहीको दायरमा ल्याउने प्रकृया सुरू गरिएको छ ।’ घरभित्र र पसलबाट उत्सर्जन भएको फोहर संकलन गर्दा सिधै गाडीमा हाल्नुपर्नेमा त्यसो नगरी सर्वसाधरणले बाटैमा फोहोर थुपार्न थालेपछि कारवाही थालिएको आचार्यले बताउनुभयो ।
सडकमा फोहरजन्य बस्तु फाल्नेको निगरानी राखि फोहर मैला व्यवस्थापन ऐन अनुसार कारबाहीको चेतावनी उहाँले दिनुभयो ।
साँझ पनि फोहर संकलन
विराटनगर नगरक्षेत्रमा फोहर उठाउन विराटनगर महानगरपालिका र वेस्ट मेनेजमेन्ट ग्रुप नेपालको पहलमा साँझमा पनि एक हप्ता अगाडिदेखि फोहर संकलन सुरु भएको छ । बजार क्षेत्रका पसलहरूबाट साँझको समयमा बढी फोहोर उत्सर्जन हुने हुँदा साँझैमा संकलन गरी व्यवस्थापन गर्न थालिएको आचार्यले बताउनुभयो । चाडवाडको बेलामा बजारमा चाप बढेसँगै फोहोर पनि बढी उत्सर्जन हुने गरेको छ ।
साँझमा बजार एरियाको फोहर उठाएर अतिरिक्त सेवा दिने काम एक साता अघिबाटै सुरु भएको उहाँले बताउनुभएको छ । रोडशेष चौकदेखि मेनरोड हुँदै पानी ट्याङकीसम्मको सडकबाट नियमित रुपमा साँझमा पनि फोहर संकलन गर्ने काम भएको छ । साँझमा फोहर उठाउने अभियान प्रभावकारी भएकोले आगामी दिनमा महानगरको सबै बजार क्षेत्रमा विस्तार गर्ने तयारीमा आफुहरु रहेको आचार्यले बताउनुभयो ।
परियोजनाले प्रत्येक दिन बिहान तीन चरणमा फोहर संकलन गर्दै आएको छ । विराटनगर भित्र दैनिक ६५ टनदेखि ९० टनसम्म फोहर संकलन हुने गरेको छ । महानगरपालिका भित्रको फोहर संकलन गर्ने कार्यका लागि वेस्ट मेनेजमेन्टले नियमित रुपमा २ सय ४० जना जनशक्ति परिचालन गर्दै आएको छ । फोहोर संकलन कार्यमा २५ वटा ट्याक्टर र २५ ट्राइसाइकल परिचालन गरिँदै आएको आचार्यले बताउनुभयो । वेस्ट मेनेजमेन्ट ग्रुपले महानगरपालिसँग फोहोर संकलन र व्यवस्थापनको सम्झौता गरी २०७३ जेठ १ गतेदेखि काम गरिरहेको छ ।
आगामी असार मसान्तसम्म ग्रुपले फोहोर संकलनको जिम्मेवारी सम्हाल्ने छ । महानगरले प्रतिमहिना ११ लाख ४० हजार रुपैयाँका दरले फोहोर संकलन तथा व्यवस्थापन कार्यका लागि ग्रुपलाई रकम उपलब्ध गराउँदै आएको छ । यसका अतिरिक्त प्रतिपसल न्यूनतम ३ सय रुपैयाँ, प्रति साधरण घर २ सय र विशेष सेवाका लागि प्रति घर ५ सय रुपैयाँ सेवा शुल्क परियोजनाले लिने गरेको छ ।
महानगरपालिकाबाट प्राप्त रकम र सेवाग्राही सदस्यहरुबाट प्राप्त सेवा शुल्क रकम गरी करिब ४० लाखको लागतमा महानगरभित्रको फोहोर मैला व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य हुने गरेको छ । यसमा महानगरपालिकाले ३२ जना कर्मचारी परियोजनाको लागि काज स्वरुप उपलब्ध गराएको छ ।