विराटनगर । मोरङ प्रहरीले इन्डियन प्रिमियर लिग (आईपीएल) को अनलाइन सट्टेबाजीमा संलग्न थप तीन जनालाई आइतबार राति पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१६ भट्टिमोडका ३७ वर्षीय पुरुषोत्तम साह, मञ्जित साह र २८ वर्षीय अफजर अलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुबाट २८ हजार ५ सय रुपैयाँ नगद, ३ थान मोबाइल, ३ डायरी र एक मोटरसाइकल बरामद भएको छ । प्रहरीका अनुसार सबैभन्दा पहिले राति साढे ११ बजे आफ्नै घरबाट मोबाइलमार्फत सट्टेबाजी गरिरहेका पुरुषोत्तमलाई र यसपछि मञ्जित एवं अलीलाई नियन्त्रणमा लिइएको हो ।
बरामद डायरीमा सट्टेबाजीमा लगानी गर्नेको नाउँ र हिसाबकिताब रहेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । मोरङ प्रहरीले यसअघि १३ असोजमा सट्टेबाजीमा संलग्न तीन जनालाई पक्राउ गरेको थियो ।
हारेको रकमको विवाद सामाजिक सञ्जाल हुँदै प्रहरीसम्म पुगेपछि सट्टेबाजमा संलग्न अर्काे एक गिरोहको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सट्टेबाजी बाजी लगाउँदा हारेको रकम उठाउनलाई व्यक्तिको अपहरण, शरीर बन्धक एवं कुटपिट गरिएको विषयमा गत असोज २५ गते नियन्त्रणमा लिइएका विराटनगर–११ का २५ वर्षीय रोनल कँडेलमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कांग्रेसको भातृ संगठन तरुण दलमा आवद्ध कँडेलमाथि सट्टेबाजीमा हारेको पैसा असुल्न सञ्जय सिंघललाई नियन्त्रणमा लिएर अपहरण गर्दै रातभर होटलमा बन्धक बनाएर कुटपिट गरेको आरोप छ । प्रहरीका अनुसार सिंघलले फेसबुकबाट घटना सार्वजनिक गरेपछि कँडेल अवैध रुपमा सट्टेबाजी खेल्ने र खेलाउनेहरुको लिस्ट बोकेर सूचनाकर्ता बन्दै प्रहरी कार्यालयमा पुगेका थिए ।
सट्टेबाजीलाई कानूनले पूर्ण रुपमा निषेध गरेको छ । प्रहरीका अनुसार कुनै पनि खेलकुद प्रतियोगिता एवं विभिन्न गतिविधी र समसामयिक परिवेषको पक्ष एवं विपक्षमा आनलाइनमार्फत ठूलो रकम बाजी लगाएर अवैध रुपमा हुने प्रतिबन्धित खेल हो, सट्टेबाजी ।
सट्टेबाजीमा ठूलो रकमको हारजीत हुने गरेको पाइएपछि प्रहरीले नियन्त्रणका लागि विराटनगरमा विशेष अप्रेशन चलाएको छ । पक्राउ परेका सट्टेबाजहरुबाट उनीहरुको कनेक्सन खोतल्दै घटनाको अनुसन्धानबाट जरोसम्म पुगेर सट्टेबाजीको सञ्जाल भत्काउने योजना प्रहरीको छ ।