नेकपा र काँग्रेसले दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने

विराटनगर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का सबै सांसदले दसैं भत्ताबापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।

सबैसँग सल्लाह गरेर संसदीय दलको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका बेलामा पार्टी नेता तथा सबै सांसदहरुले सादा ढंगले दसैं मनाउने र सबैलाई त्यही आग्रह गर्ने निर्णय गरेको पनि जानकारी नेम्बाङले जानकारी दिनुभयो । ‘कोरोनाविरुद्धको लडाईँ हाम्रो पहिलो प्राथमिकता हो । यो सन्दर्भमा हामीले पाउने दसैं खर्चबापतको भत्ता सरकारको कोरोनाको कोषमा जम्मा गर्ने निर्णय गरेका छौँ’, नेता नेम्वाङको भनाइ छ ।

जनस्तरबाट चर्को आलोचना भएपछि प्रधानमन्त्री ओली, नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड, सभामुख अग्‍नि सापकोटा र राष्ट्रियसभा अध्यक्षसँग छलफलपछि यो निर्णय भएको हो ।

कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि सांसदहरुको चौतर्फी आलोचना भएको थियो । यस्तो आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेपछि यस्तो निर्णय गरेको हो । नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सबै सांसदहरुले दसैँ भत्ता बापत पाउने रकम फिर्ता गर्ने भएको छ । यसअघि सोमबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको थियो ।

सरकारले दसैँ भत्ताबापत आफ्ना पार्टीका सांसदहरुलाई उपलब्ध गराएको रकम बापत हुन आउने कुल ४३ लाख २० हजार ८१० रुपैयाँ रकम संघीय संसदमार्फत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय कांग्रेसले गरेको हो । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सोमबार जारी गरेको विज्ञप्तिमा यतिबेला जनप्रतिनिधिलाई दसैँ भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दभिक र उचित नभएकोले कोषमा रकम जम्मा गर्ने निर्णय भएको जनाइएको छ ।

सोमबार, ०३ कार्तिक, २०७७, दिउँसोको ०३:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर