विराटनगर । सीमा नाका शिल गरिएको बेला मोरङका विभिन्न नाकाबाट अवैध रूपमा भारतबाट लत्ताकपडाको तस्करी हुने गरेको पाइएको छ । सशस्त्र प्रहरीले र मोरङ प्रहरीले ठूलो परिणामको लत्ताकपडा बरामद गरेपछि तस्करी निरन्तर भइरहेको पुष्टि भएको हो ।
सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको टोलीले दुई दिनमा १० लाख ६० हजार मूल्य बराबर पर्ने कपडा बरामद गरेर आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरीको बिओपी बखरीले ९ लाख २२ हजार र बिओबी रानी विराटनगरले १ लाख ४५ हजार मूल्य बराबरको तस्करीको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेललका अनुसार विराटनगर १६ दरैयाबाट तस्करीको कपडा बरामद गरिएको हो । उहाँका अनुसार टप्स, कुर्ता सुरूवाललगायतका कपडा नियन्त्रणमा लिएको छ । प्रहरी आएको थाहा पाएपछि तस्करीमा संलग्न भने फरार बनेका थिए ।
‘भारतबाट कपडा तस्करी भएर आइरहेको छ भन्ने विशेष सूचनाका आधारमा बिओपी बखरीका सईको नेतृत्वमा परिचालित सशस्त्र प्रहरीको टोलीले कपडा बरामद गरेको हो’ एसपी पौडेलले भन्नुभयो, ‘बरामद गरिएका सबै कपडा कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।’ बोराभित्र हालेर ल्याउँदै गरेको अवस्थामा भन्सार छलेको तस्करीको कपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले तस्करीमा संलग्नले भारतसँग सिमा जोडिएको विराटनगरको दरैयाबस्तीको उखुबारी प्रयोग गर्न थालेको जनाएको छ । स्रोतका अनुसार ११ बजेपछि तस्करीको कपडा विराटनगर १६ दरैयाको उखुबारीको भित्री बोटो हुँदै रिङरोडबाट भित्र्याउने गरिन्छ । प्रहरीले बरामद गरेको सामान भने थोरै मात्र रहेको स्थानीयको भनाइ छ । ‘धेरै सामान त प्रहरीको मिलेमतोमै वारपार हुने गरेको छ’ सीमा क्षेत्रका एक स्थानीयले भने, ‘बाहिर देखाउनको लागि र प्रहरीसँग सेटिङ नमिलाएकाहरुको मात्र सामान बरामद हुन्छ ।’
स्रोतका अनुसार तस्कर समूहले भारतको टिकुलिया बस्तीदेखि दक्षिण क्षेत्रमा कपडा जम्मा गरेर राख्ने गरेको छ । उनीहरुले राति ११ बजेपछि भरियालाई लगाएर विराटनगर १६ उखुबारी हुँदै दरियाबाट तस्करीको कपडा कटाउने गरेको स्थानीयले बताएका छन् । कपडाको तस्करीको लाइन ‘लिबिस्टकवाली’ भनेर चिनिने रेणुका मण्डल, मुकेस साह, सुरेश यादव, सवनम मियाँले चलाउने गरेको स्रोतको दाबी छ ।
तस्करीको कपडा भारतदेखि दरियाबस्ती हुँदै विराटनगरसम्म पु¥याउन भरिया प्रयोग गरिन्छ । उनीहरूले भरिया प्रयोग गरेको निश्चित रकम दिने गरेका छन् । प्रतिव्यक्ति भरिया ५ सयदेखि एक हजार रूपैयाँसम्मा डिल हुन्छ । ‘१ हजार रुपैयाँ दिएको भरियालाई ८० देखि १ सय पिससम्म कपडा बोरामा हालेर बोकाउने गरेका छन्,’ स्रोतले भन्यो, ‘५ सय रुपैयाँ लिने भरियालाई ३० देखि ४० पिससम्म कपडा बोकाउने गरेको छ ।’ सशस्त्र प्रहरी र नेपाल प्रहरीले शनिबार र आइतबार बरामद गरेको तस्करीको कपडा उनीहरूकै रहेको बुझिएको छ ।
यो समूहले भारतदेखि उखुबारी कटाएपछि दरैयाबस्तीको विश्वासिलो व्यक्ति घरमा भण्डारण गर्ने र दिउँसो समय मिलाएर गन्तब्यमा पु¥याउने गर्दछन् । उनीहरूले विराटनगरसहित पूर्वको विभिन्न सहरमा कपडाको तस्करी गर्दछन् । अहिले यो समूहले चाडपर्वको समयमा कपडा र अन्य बेला सिजन अनुसारको तस्करीको धन्दा चलाउने गरेका हुन् ।
आइतबार बिहान मोरङ प्रहरीले विराटनगर ८ स्थित जयनेपाल चोकबाट तस्करी गरेर ल्याएको कपडा र तस्करीमा प्रयोग भएको अटो बरामद गरेको छ । को २ ह ७६७१ नम्बरको अटोमा लुकाईछिपाई ल्याउँदै गरेको ३ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको कपडाहरू बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार कुर्ती सिंगल ६०८ पिस, कुर्ता सुरूवाल सेट १६५ पिस, बच्चाको पेन्ट १८ पिस बरामद गरेको छ ।
बरामद गरेको सामाग्रीहरू प्रहरीले विराटनगर भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ । भन्सार छलेर कपडाको तस्करी हुन थालेको पाइएपछि सबै ठाउँमा कडाइ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी खड्काले बताउनुभयो ।
‘कपडादेखि अन्य सामानसमेत तस्करी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कडाइ थालिएको छ,’ एसपी खड्काले भन्नुभयो, ‘सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीका सबै युनिटलाई सतर्क रहन निर्देशन दिईसकिएको छ ।’
तस्करीका लागि भारतसँग सीमा जोडिएका मोरङका रंगेली, बुधनगर, मटेरुवा, खयरवना, सिक्टी, दरैया र सुनसरीका अमडुवा, साहेवगन्ज, भन्टारबारी, भुटाहा, हुस्कीलगायतका नाका प्रयोग गर्न हुने गरेको छ । सो क्षेत्रका स्थानीय भने प्रहरीसँगको मिलेमतोमै तस्करी चलिरहेको बताउँछन् ।