विराटनगर । विराटनगर–७ मा सञ्चालित आँगन स्वीट्समा मिठाइ बनाउने ‘बेसन’ न्यून गुणस्तरको र अखाद्य प्रमाणित भएपछि नष्ट गरिएको छ ।
आँगन स्वीट्सले उपभोग्य मिति नभएको, फोहर तथा डल्ला परेको बेसन प्रयोग गरेको अनुगमनको क्रममा भेटिएपछि गत असोज १९ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले नमूना संकलन गरि परीक्षण गरेको थियो ।
परीक्षण रिपोर्टमा आँगनले प्रयोग गरेको बेसन न्यून गुणस्तरको भेटिएपछि आइतबार शील गरिएको तीन बोरा बेसन नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिनुभयो । नष्ट गरिएको बेसनमध्ये ३० कजेजी तौलको उपभोग्य मिति नै थिएन ।
‘अघिल्लो पटक अनुगमनमा आउँदा आँगन स्वीट्सको किचन र नाला फोहर थियो,’ रिजालले भन्नुभयो, ‘उपभोग्य मिति पनि उल्लेख नभएको र डल्ला परेको बेसन भेटिएपछि नमूना संकलन गरि परीक्षण गर्न पठाएका थियौं । परीक्षण रिपोट न्यून गुणस्तरको आएको छ ।’ दोस्रो पटक गरिएको अनुगमनको क्रममा स्वीटले किचन भने सुधार गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ ।
यसअघि आँगन स्वीट्समा अनुगमनको क्रममा २ केजी मिठाइमा झिँगा परेको भेटिएपछि नष्ट गरिएको थियो । न्यून गुणस्तरको बेसन भेटिएको आँगन स्वीट्सलाई खाद्य प्रविधि तथा गण नियन्त्रण कार्यालयले खाद्य ऐन अन्तर्गत पनि कारवाहीको प्रक्रिया अगाडि बढाउने भएको छ ।
आँगनका सञ्चालक निरब अग्रवालले आफू बाहिर भएको अवस्थामा स्टाफबाट मानवीय कमजोरी भएको स्वीकार गर्दै त्यसलाई सच्याइसकेको बताउनुभएको छ । गुणस्तरमा आँगनले कुनै सम्झौता नगर्ने दावी गर्दै उहाँले ग्राहकको विश्वास खेर जान नदिने प्रतिबद्धता जनाउनुभएको छ ।
खुद्रा पसलमा म्याद गुज्रेको खाद्यवस्तु
विराटनगर महानगरपालिकाभित्रको किरानाको खुद्रा पसलमा म्याद सकिएको खाद्यबस्तु फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा आइतबार गरिएको अनुगमनको क्रममा खुद्रा पसलहरूमा म्याद सकिएको खाद्यवस्तु भेटिएको हो ।
विराटनगर ११ नयाँगुद्रीमा प्रभु भगतले सञ्चालन गरेको विष्णु किराना स्टोर खुद्रा पसलमा पापड म्याद सकिएको भेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विष्णु किराना स्टोरमा ६३ थान पापड म्याद सकिएको भेटिएपछि नष्ट गरिएको छ ।
यस्तै नयाँ गुद्रीमा रहेको कौशिक किराना स्टोरमा पनि म्याद सकिएको पेय पदार्थ फेला परेपछि अनुगमन टोलीले नष्ट गरेको छ । उपभोक्ताहरूको जनगुनासो आएपछि बजार अनुगमनको तीव्रता दिएको रिजालले बताउनुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको कार्यक्षेत्र प्रदेश १ को १४ जिल्ला पर्दछ ।