प्रदेश १ : कोरोनाबाट एकैदिन ८ जनाको मृत्यु

विराटनगर । गएको २४ घण्टामा प्रदेश १ का विभिन्न अस्पतालमा उपचाररत ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ५ जना, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ जना र विराट नर्सिङ होममा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरानका ३, इटहरीका १, मोरङको विराटनगरका १, सुन्दरहरैँचाको १ र तेह्रथुमका २ जना छन् ।

तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७ः१५ बजेतिर उपचारका क्रममा बीपी प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुषको रिपोर्ट विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यसैगरी, इटहरी उपमहानगरपालिका–२० की ७५ वर्षीया महिलाको बिहीबार बिहान १२ः५ बजेतिर उपचारकै क्रममा मृत्यु भएको छ । श्रेष्ठका अनुसार उच्च रक्तचापको समस्या रहेकी वृद्धामा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानमा भर्ना गरिएको थियो । वृद्धाको उपचारकै क्रममा आकस्मिक कक्षमै मृत्यु भएको हो ।

धरान– ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाको बुधबार अपरान्ह ३ः१५ बजेतिर उपचार गर्दागर्दै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलाको पनि दीर्घ रोगबाट जानकारी नभएको जनाएको प्रतिष्ठानले असोज २७ गते उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताएको छ । असोज २८ गते महिलालाई कोभिड अस्पतालमा भर्ना गरी उपचारमा राखिएको थियो ।

बीपी प्रतिष्ठानमै धरान उपमहानगरपालिका–९ का ५८ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ । प्रतिष्ठानको प्रयोगशालामा २५ असोजमा संक्रमण पुष्टि भएका उनी २८ असोजमा अस्पताल भर्ना भएका थिए ।

उता तेह्रथुम दाङ्पा–१ का ४९ वर्षीय पुरुषको प्रतिष्ठानको आकस्मिक कक्षमा बुधबार बेलुका उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई जिल्ला अस्पताल धनकुटाबाट थप उपचारका लागि प्रतिष्ठान ल्याइएको थियो ।

विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिला र दुई पुरुष गरेर तीन जनाको मृत्यु भएको छ । विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचाररत मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार ल्याइएकी महिलालाई श्वासप्रश्वासको पनि समस्या थपिएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

विराटनगरकै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष रहेका छन् ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको थियो । त्यही दिन राति अस्पताल भर्ना गरिएका उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिनुभयो ।

स्वास्थ्य अवस्था गम्भीर बनेर गएपछि पुरुषलाई भेन्टिलेरमा राखिएको थियो । मृतकमा मधुमेहको पुरानै समस्या थियो । त्यस्तै गत सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार राति ९ बजेतिर मृत्यु भएको हो ।

मृतकमा मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्यसम्बन्धी पुरानै समस्या रहेको उनको भनाइ छ । योसँगै प्रदेश १ मा मृत्यु हुने कोरोना संक्रमितको संख्या हालसम्म १ सय २२ पुगेको छ ।

बिहिबार, २९ असोज, २०७७, दिउँसोको ०१:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर