विराटनगर । चीनको चिङ्दाओ सहरमा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि शहरका सबै ९० लाख नागरिकको कोरोना परीक्षण हुने भएको छ ।
आइतबार १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त सहरमा रहेका करिब ९० लाख नागरिकको कोरोना परीक्षण हुने भएको हो ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार आगामी ५ दिनमा सहरका सबै बासिन्दाको कोरोना परीक्षण गरिने भएको छ । राजधानी बेइजिङबाट ७ सय किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय सहर चिङदाओको चिङ्दाओ चेस्ट हस्पिटलमा १२ जनालाई कोरोना पुष्टि भएपछि पूरै सहरमा परीक्षण गर्न लागिएको हो ।
चीनमा कोरोना परीक्षण निकै द्रुत गतिमा हुने गरेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार आइतबार केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य संस्थाका कर्मचारी र नयाँ भर्ना भएका बिरामी गरी १ लाख ४० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ ।
चीनले गत मे महिनामा कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको राजधानी वुहान सहरका करिब १ करोड १० लाख नागरिकको कोरोना परीक्षण १० दिनमै गरेको थियो । चीनमा कोरोना भाइरसको संक्रमण करिब नियन्त्रण भइसकेको छ । पछिल्लो समय फाट्टफुट्ट रुपमा मात्रै चीनमा कोरोना पुष्टि हुने गरेको छ ।
पछिल्लो समय चीनमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार सोमबार बिहानसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार ८ सय १२ रहेको छ । चीनमा कोरोनाबाट ४ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ ।
चीनमा कोरोना पुष्टि भएकामध्ये ८५ हजार ६ सय ६९ संक्रमणमुक्त भएका छन् । (एजेन्सीको सहयोगमा)