प्रदेश सरकारको कोभिड रोजगार कार्यक्रम गतिहिन

विराटनगर । कोरोना भाइरसको महामारीबाट रोजगार गुमाएका युवाहरुलाई शीप अनुसारको रोजगारी प्रदान गर्ने भन्दै प्रदेश १ सरकारले घोषणा गरेको कार्यक्रम गतिहिन बनेको छ ।

वैदेशिक रोजगारबाट नेपाल फर्किन ईच्छुक अनि फर्किएर बेरोजगार बसेकालाई रोजगारी दिन प्रदेश सरकारले घोषणा गरेको कोभिड रोजगार कार्यक्रम घोषणा भएको चार महिना वितिसक्दा पनि अलपत्र अवस्थामा छ ।

अझैसम्म सरकारले कोभिड रोजगार कार्यक्रमबारे युवाहरुलाई न त पर्याप्त सूचना नै दिएको छ न त निर्देशिकाहरु नै निर्माण गरेको छ । सबै जिल्ला समन्वय समितिहरुमा राख्नुपर्ने रोजगार डेस्क राख्न पनि कुनै सुरसार गरेको छैन ।

रोजगार कार्यक्रमका लागि प्रदेश १ सरकारले मात्र युवालाई अनलाइन फराम भर्न आग्रह गरेको छ । तर, त्यसको लिंक प्रदेश योजना आयोगको वेवसाइटमा मात्र राखेको छ । जसले गर्दा बैदेशिक रोजगारमा रहेका र नेपाल फर्केका युवाहरुले सूचना नपाउदा रोजगार अनलाइन फारम भर्नेहरु नै एकदमै न्युन छन् । प्रदेश १ योजना आयोगका अधिकृत प्रेमचन्द्र राईका अनुसार अनुसार हालसम्म २ सय जना युवाहरुले मात्र अनलाइनमार्फत रोजगारीका लागि फराम भरेका छन् ।

अनलाइन फारम उद्घाटन गर्दा तामझाम
प्रदेश सरकारले योजना आयोगको मातहत रहनेगरी मुख्यमन्त्री शेरधन राईले गत जेठ २७ गते अनलाइन फराम सार्वजनिक गर्नुभएको थियो । २० हजार युवाहरुलाई रुचीको पेशा अनुसार रोजगार दिने घोषणासहति युवाहरुलाई फारम भर्न आग्रह गरिएकोमा दुई युवाले मात्र फारम भरेकोले सरकारको घोषणाप्रति युवाहरुमा विश्वासन नरहेको देखिएको छ ।

स्वरोजगार कार्यक्रम र फारमबारे प्रदेश सरकारले हालसम्म कुनै प्रचारप्रसार भने गरेको छैन । न त कार्यक्रम निर्देशिका निर्माण गरेको छ, न त स्थानिय पालिका वा मातहतका कार्यालयहरुलाई फरामबारे जानकारी नै दिएको छ । रोजगार कार्यक्रमकै लागि भनेर जिल्ला समन्वय समितिमा स्वरोजगार डेस्क स्थापना गर्ने भनिएपनि हालसम्म स्थापना भएको छैन ।

कोभिड १९ संक्रमणले निम्त्याउने वेरोजगारी समस्यालाई समाधान गर्न वैदेशिक रोजगारबाट फर्किएका र स्वदेश फर्केर उद्यम गर्न चाहने युवाहरुका लागि ‘मेरो कृषि मेरो पौरख’ नारा दिएर प्रदेश प्रमुख नवप्रबृद्धन कृषि कार्यक्रम घोषणा गरि १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरि शीप अनुसार बेरोजगारहरुलाई रोजगार दिन मुख्यमन्त्री स्वरोजगार कार्यक्रमका लागि २५ करोड रुपैयाँ बजेट छुटयाएको छ । तर, कुनैपनि कार्यक्रम अगाडि बढेको छैन ।

बल्ल निर्देशिका ड्राफ्ट हुँदै
योजना आयोगका सचिव भरतमणी रिजालले कोभिड संक्रमण रोकथाममा सरकारका सबै संयन्त्र परिचालन भएकोले व्यापक रुपमा फारम भराउन र कार्यक्रम निर्देशिका निर्माण गर्न ढिलाई भएको बताउनुभयो । निर्देशिका ड्राफ्ट गर्ने तयारीमा रहेको जानकारी दिँदै उहाँले अब काम अगाडि बढ्ने बताउनुभयो ।

गत जेठ ५ मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश नं १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार उक्त तथ्यांक जततउकस्ररजभउिष्लिभ।उज्ञ।नयख।लउर मा सोझै वा प्रदेश १ योजना आयोगको बेवसाइटमा गएर भर्न सकिन्छ ।

सचिव रिजालका अनुसार प्रदेश योजना आयोगले भरिएका फारमहरुको आधारमा रोजगारका लागि विदेशबाट आउने चाहने र आएकाहरुको तथ्याङ्क तयार गर्नेछ । सोही तथ्याङ्कको आधारमा प्रदेश सरकारले युवाहरुलाई शीप अनुसार रोजगारीमा सहभागी गराउनेछ । त्यसका लागि योजना आयोगले तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर जिल्ला समन्वय समितिमा रोजगार डेस्क बनाएर कार्यक्रम सञ्चालन गराउनेछ ।

युवाहरुलाई कुनै जानकारी छैन
विदेशमा रहेका धेरै युवाहरुलाई प्रदेश १ सरकारको रोजगार कार्यक्रमबारे जानकारी नै नभएको हाल साउदी अरबमा रोजगारीमा रहेका मोरङ विराटचौकका राजकुमार आचार्यले बताउनुभयो । बैदेशिक रोजगारीबाट फर्केर कोभिडले गर्दा बेरोजगार भएर बसिरहेका झापा मेचीनगर २ तारावारीका सन्तोष घतानीले पनि प्रदेश सरकारको रोजगार कार्यक्रमबारे आफूलाई कुनै जानकारी नै नभएको बताउनुभयो ।

कोभिडले गर्दा भारतको बैंगलोरमा बेरोजगार भई बसिरहेकी झापा धुलाबारीकी गीता विश्वकर्माले पनि सरकारको कार्यक्रमबारे आफूले कुनै जानकारी नपाएको बताउनुभयो । भारतमा व्युटी पार्लर पेशामा रोजगार गरिरहनुभएको उहाँले सरकारले रोजगार दिने निश्चित भए स्वदेश नै फर्कने बताउनुभएको छ ।

प्रदेश सरकारले रोजगारी दिनका लागि भराउन लागेको फारमबारे विदेशमा रहेका र फर्केर नेपालमा बेरोजगार भएर बसिरहेका युवाहरु नै बेखबर देखिएका छन् । आफ्नो ठाउँबाट बिदेशमा गएका र फर्केकाहरु सबैको लगत पालिकाहरुले तयार गरिसकेकोले स्थानीय तहमार्फत फारम भराउन आव्हान गरे धेरैभन्दा धेरै युवाहरुले रोजगार माग्दै फराम भर्ने देखिएको छ ।

फायल फोटोः अनलाइन फारमको उद्घाटन गर्दै मुख्यमन्त्री राई

सोमबार, २६ असोज, २०७७, बिहानको ०८:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर