विराटनगर । मोरङको दक्षिणी क्षेत्रबाट तस्करीको लाइन खुलेआम सञ्चालन भइरहेको अवस्थामा प्रहरीले लाखौंको सामान बरामद गरेको छ ।
अवैध रूपमा भन्सार छलेर भारत लैजान लागेको ९० बोरा सेतो मटर मंगलबार विहान प्रहरीले धनपालथान गाउँपालिका १ गडेरिया क्षेत्रबाट बरामद गरेको गरेको छ ।
अवैध रूपमा नेपालबाट चोरी निकासी गरी भारतको दशगजा एरिया ईलाकाबाट ठूलो परिमाणमा भारततर्फ सेतो मटर जाँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गडेरिया बस्ने श्याम मण्लको घरबाट मटर बरामद गरेको हो । बरामद मटरको मूल्य १ लाख ८० हजार बराबर रहेको प्रहरीले मूल्यांकन गरेको छ ।
यसैगरी मंगलबार साँझ विराटनगर १५ स्थित भन्सार कार्यालयको दक्षिण छेउमा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको कपडा प्रहरीले बरामद गरेको छ । चोरी पैठारी गरी ल्याएको कपडा कच्ची बाटोको छेउमा वेवारिसे अवस्थामा छाडेर तस्कर भागेको र प्लाष्टिकको बोरामा प्याक गरेको जुत्ता, कपडा तथा किराना मालसामान १ लाख २६ हजार रुपैयाँ बराबरको बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
बुधबार विहान विराटनगर १४ स्थित हनुमान मन्दिर नजिक भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलेर ल्याएको ३० केजीको दरको ३ बोरा जिरा र १० केजीको दरले ६ बट्टा टिनसहित १ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरेको हो ।
बरामद सबै सामान आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
मोरङको दक्षिणी क्षेत्रबाट प्रहरीसँगकै मिलेमतोमा तस्करी को लाइन खुलेआम सञ्चालन भइरहेको छ । लाइन नमिलेको अवस्थामा प्रहरीले केही सामान बरामद गर्ने गरेको भएपनि खुलेआम ट्याक्टरबाट सामान ओसारपसार भइरहेको स्थानीयले बताएका छन् । यसैगरी सिमा क्षेत्रमा राखिएका काँटाबाट दैनिक हरियो र सेतो मटर, गहुँ र खाद्यबस्तुको तस्करी हुने गरेको छ ।
मोरङको जहदा, धनपालथान र रंगेली नगरपालिकाको दक्षिण भेग भारतसँग सिमा जोडिएको क्षेत्रमा अहिले मटर, गुहँ र खाद्यवस्तुको दैनिक तस्करी भइरहेको छ । यसअघि जहदा १ कलरियास्थित धर्मचन्द्र साहको घरमा भण्डारण गरिएको ६ हजार २ सय ४० केजी गहुँ प्रहरीले बरामद गरेको थियो । आइतबार राति जहदाकै ७ स्थित तारेगामा सिमा नाकामा नेपालबाट भारततर्फ लैजाँदै गरेको ५० बोरा मिक्सर दालसमेत प्रहरीले बरामद गरेको थियो ।
पछिल्लो समय विशेष गरि रंगेलीको सिक्टी, धनपालथान गाउँपालिका २ खैरबोना, जहदा गाउँपालिको तरेगमा, नोचा, विराटनगर १७ को इश्लामपुर नाकाबाट तस्करी हुने गरेको दाबी छ । सो नाकामा रहेका काँटा प्रयोग गरेर तस्करी हुने गरेको छ ।
कोरोना महामारी सुरु भएपछि नेपाल–भारत सीमा नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरी मानवीय गतिविधि बन्द गरेको बेला सीमासँग जोडिएका मोरङ र सुनसरीका सडकहरु तस्करीका लागि प्रयोग हुन थालेका हुन् । विगत लामो समयदेखि औपचारिक रुपमा तस्करीको लाइन सञ्चालन नभएको दक्षिणी क्षेत्रमा तस्करीजन्य गतिविधि एकाएक बढेको हो ।
मोरङ र सुनसरी जिल्लाबाट विगत एक महिनादेखि हजारौं मेट्रिक टन केराउ भारततर्फ तस्करी गरेर लगिएको छ । सीमा सुरक्षाका लागि खटिएको प्रहरी टोलीले बेला बेला दुई चार बोरा केराउ र अन्य सामान बरामद गरेपनि दैनिक सयौं ट्रयाक्टर केराउ भारत जाने गरेको सीमा क्षेत्रका स्थानीयहरुले जानकारी दिएका छन् ।
स्थानीयले प्रहरीसँगकै मिलेमतोमा तस्करी सुरु भएको दावी गरेका छन् । मोरङको कदमाहा नोचा सडक, खयरबना, मायागञ्ज र सिक्टी नाका औपचारिक रुपमा तस्करीमा प्रयोग भइरहेको छ ।