सीमा क्षेत्रमा काँटा राखेर तस्करी : ठूलो परिमाणमा गहुँ र दाल बरामद

विराटनगर । भारतसँग सिमा जोडिएको मोरङको दक्षिणी क्षेत्रमा ‘काटा’ (गोला) राखेर दैनिक हरियो मटर, गहुँ र खाद्यबस्तुको तस्करी हुने गरेको खुलेको छ ।

मोरङको जहदा, धनपालथान र रंगेली नगरपालिकाको दक्षिण भेग भारतसँग सिमा जोडिएको क्षेत्रमा अहिले मटर, गुहँ र खाद्यवस्तुको दैनिक तस्करी हुने गरेको तथ्य बाहिर आएको हो ।

मोरङमा भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्रमा साना–ठूला गरि ३६ वटा नाका रहेको छ । ती नाकाका तीन दर्जन बढी स्थानमा व्यापारीले काँटा राखेका छन् । उनीहरूले गहुँ, धान, हरियो मटरलगायतको खाद्यवस्तुको खरिदबिक्री गर्दछन् ।

सोमबार राति मोरङको जहदा गाउँपालिका १ कुलरियास्थित ठूलो परिमाणमा भारतदेखि तस्करी गरि भण्डारण गरिएको गहुँ प्रहरीले बरामद गरेको छ । मोरङ प्रहरी र इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाको टोलीले सीमा नाकादेखि एक सय मिटर उत्तर रहेको धर्मचन्द्र साहको घरमा भण्डारण गरिएको ६ हजार २ सय ४० केजी गहुँ बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको ६० केजीको १ सय ४ बोरा गहँु तस्करी गरि नाकामा ल्याएर भण्डारण गरिएको अवस्थामा बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । ‘रातको समयमा तस्करीमा लागेका गिरोहले साइकलमा एक जनाले ३ बोराको दरले गहुँ नेपाल प्रवेश गराउने गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी खड्काले भन्नुभयो, ‘अहिले बेसिजनको बेलामा गहुँको तस्करी हुने गरेको पाइयो ।’

तस्करीमा लागेका गिरोहहरू फरार रहेकोले उनीहरूको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ । नेपालमा गहुँको सिजन नभएकोले भारतदेखि प्रतिक्वीन्टल ३ हजार १ सय रूपैयाँमा खरिद गरेर ल्याएको गहुँ प्रतिक्विन्टल ५ सय देखि ६ सय रुपैयाँ नाफा राखेर मिललाई बिक्री गर्ने गरेको प्रहरी स्रोतको दाबी छ ।

सीमा क्षेत्रमा रहेको काटाको व्यापार गर्ने व्यापारीले तस्करी गरेको गुह, चामलहरू फर्जी बिल बनाएर मिललाई विक्री गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले नेपालबाट मटर, दाल, मरिच भारतर्फ तस्करी गर्दछन् । आइतबार राति जहदाकै ७ स्थित तारेगामा सिमा नाकामा नेपालबाट भारततर्फ लैजाँदै गरेको ५० बोरा मिक्सर दालसमेत प्रहरीले बरामद गरेको छ ।

पछिल्लो समय विशेष गरि रंगेलीको सिक्टी, धनपालथान गाउँपालिका २ खैरबोना, जहदा गाउँपालिको तरेगमा, नोचा, विराटनगर १७ को इश्लामपुर नाकाबाट तस्करी हुने गरेको स्रोतको दाबी छ । सो नाकामा रहेका काँटा प्रयोग गरेर तस्करी हुने गरेको छ ।

मंगलबार नेपालबाट भारततर्फ लैजान लागेको १ सय बोरा तस्करीको हरियो मटर पनि प्रहरीले बरामद गरेको छ । सो मटर विराटनगरका व्यापारीबाट खरिद गरेर साहले भारततर्फ लैजान लागेको अवस्थामा नोचाबाट पक्राउ गरेको हो ।

धनपालथान गाउँपालिकाको २ खैरबोनास्थित सिमा नाकामा घरैपिच्छे काँटा रहेको छ । त्यहाँ जयप्रकास साह, उमेश साह, देवनारयण मण्डल, उचितलाल साह र सर्वण साहले बोर्डर छेउमा काँटा राखेका छन् । भारत घर भएका गैडला मण्डलले पनि नेपाली भूमिमा आएर धानको काटा राखेको खुलेको छ ।

धनपालथानका स्थानिय देवनारयण मण्डलको नाममा काटा राखेर उनले व्यवसाय सञ्चालन गर्दै आएका छन् । धनपालथान–३ मायागन्जस्थित छोटी भन्सारदेखि पूर्व करिब ३ किलोमिटर खैरबोनी, नोचा, मायाँगन्जबाट दिनहु रातीको समयमा ट्याक्टर र साइकलमा नेपालबाट हरियो मटर, दाल जाने गरेको र भारतदेखि गहुँ र खाद्यबस्तु तस्करी हुने गरेको गरेको सिमा क्षेत्रका एक बासिन्दाले बताए ।

मङ्गलबार, २० असोज, २०७७, साँझको ०७:२३ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर