प्रदेश १ मा २६ प्रतिशतलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो दिनमा कोरोना भाइरस परीक्षणको दर घटेकोबेला संक्रमितको संख्या भने लगातार बढिरहेको छ ।

प्रदेशमा ११ वटा कोरोना परीक्षण गर्ने पीसीआर ल्याब सञ्चालनमा रहेको भएपनि परीक्षणको दर भने न्युन रहेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार सरकारी तवरबाट बीपी प्रतिष्ठानमा २, कोशी अस्पतालमा ३, प्रदेश प्रयोगशालामा १, झापाको कन्काई कोटीहोममा १ र मेची अस्पतालमा १ ल्याब सञ्चालनमा छ । निजी क्षेत्रबाट विराटनगरको न्युरो, विराट र नोबेल अस्पतालले पीसीआर ल्याब सञ्चालन गरको छन् ।

पीसीआर ल्याबको संख्या बढेपछि पछिल्लो समयमा स्वाब परीक्षणको संख्या घटेको छ । मंगलबार प्रदेशभरीमा जम्मा ६६६ जनाको पीसीआर परीक्षण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार परीक्षण गरिएकोमध्ये ४९.५४ प्रतिशत अर्थात ३३० जनामा कोरोना देखिएको छ । परीक्षण गरेकोमध्ये ५० प्रतिशतमा कोरोना देखिनु भयावह अवस्था हो ।

प्रदेशमा गत बुधबारदेखि मंगलबारसम्मको पछिल्लो एक सातामा ५ हजार ६८० जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये १ हजार ४६४ जनामा कोरोना देखिएको छ । जुन २५.७७ प्रतिशत हो । सरकारले नेपालभरि भने कुल १० प्रतिशत हाराहारीमा कोरोना देखिएको बताउँदै आएको छ ।

प्रदेश १ मा सोमबार सोमबार ५९२ परीक्षण गर्दा १६४ जनामा कोरोना देखिएको थियो भने आइतबार ६६६ परीक्षण गर्दा १७९ संक्रमित फेला परेका थिए । यस्तै शनिबार १ हजार २०९ परीक्षणमा २५५, शुक्रबार ९५८ परीक्षणमा १९७, बिहीबार ९७८ परीक्षणमा १८२ संक्रमित र बुधबार ९७१ परीक्षणमा १५७ संक्रमित फेला परेका थिए ।

प्रदेश १ मा कोरोना संक्रमितको मंगलबार संख्या ८ हजार १०५ पुगेको छ । जसमध्ये ४ हजार १२२ जना डिस्चार्ज भएका छन् भने मृत्यु हुनेको संख्या ८५ पुगेको छ । मृतकमध्ये प्रदेश २ का १३ जना छन् ।

बुधबार, २१ असोज, २०७७, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर