प्रदेश १ मा चार कोरोना संक्रमितको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा २ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना र विराटनगरमा घरमै एक जनाको मृत्यु भएको हो ।

नोबेलको आइसोलेसनमा उपचार गराइरहेका दुई कोरोना संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको कानेपोखरी र रतुवामाईका संक्रमितको मृत्यु भएको हो ।

कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको दाहालले जानकारी दिनुभयो । सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनको स्वाब संकलन गरेर नोबेलकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजेटिभ आएको थियो ।

ब्लड क्यान्सर पीडित रहेका उनमा कोरोना देखिएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । भेन्टिलेटरमा राखेर थप उपचार थालिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

त्यस्तै रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर मृत्युु भएको छ। असोज १० गते नोबेलमा भर्ना भएका पुरुषको पीसीआर परीक्षण गराउँदा १४ गते पोजेटिभ रिपोर्ट आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । मधुमेहको बिरामी रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको अस्पतालले जनाएको छ ।

उता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरानका एक बृद्धको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय वृद्धको बिहान ४ः२० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

मृतकमा मधुमेह र मुटु सम्बन्धी समस्या थियो । ज्वरोलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि अस्पताल भर्ना गरिउका उनलाई असोज १२ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।

यसैगरी सोमबार राति घरमै मृत्यु भएका विराटनगर महानगरपालिका–११ पिचराका ८८ वर्षीय बृद्धमा पनि कोरोना देखिएको हो । सोमबार राति ११ बजे आफ्नै घरमा मृत्यु भएको बृद्धको मृत्यु भएको १५ घण्टापछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि सोमबार बृद्धको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनको रिपोर्ट भने मंगलबार दिउँसो मात्र पोजेटिभ आयो ।

मङ्गलबार, २० असोज, २०७७, साँझको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर