अपराधका घटनामा कमी आएको प्रहरीको दाबी

विराटनगर । गत आर्थिक वर्ष २०७६/०७७ मा प्रहरीले प्रदेश १ बाट ४ सय वटा लागुऔषध सम्बन्धि मुद्दामा ७ सय ६७ जनालाई पक्राउ गरेको छ ।

१ नं. प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा २९ महिला र ७ सय ३८ जना पुरुष रहेका छन् । उनीहरुलाई प्रदेश नं. १ का सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएका हुन् ।

सो आ.ब. मा प्रदेश नं. १ का विभिन्न जिल्ला प्रहरी कार्यालयहरुमार्फत दर्ता भएका ६ हजार ८ सय ८५ वटा विभिन्न प्रकतिका मुद्दाहरुमध्ये सबैभन्दा बढी ५ सय १९ वटा मुद्दाहरु लागुऔषध सम्बन्धी मात्र रहेका छन् । जसमा थप १ सय १९ वटा मुद्दाहरुको सफल अनुसन्धान हुन बाँकी छ ।

यसैगरी पछिल्लो १ वर्षको अवधिमा प्रदेश नं. १ का १४ वटै जिल्ला प्रहरी कार्यालयहरुले कर्तव्य ज्यान मुद्दाका ६०, आत्महत्याका १०, ज्यान सम्बन्धि ७, मानव बेचबिखनका २०, जबरजस्ती करणीका ३ सय ३, जबरजस्ति करणी उद्योगका १ सय १३ र अन्य २ हजार ८ सय २ वटा मुद्दाहरुको सफल अनुसन्धान गरेको छ ।

दर्ता भएकामध्ये बाँकी ४६ प्रतिशत मुद्दाहरु अनुसन्धान प्रक्रियामा रहेको १ नं. प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशभरिबाट दर्ता भएका विभिन्न प्रकृृतिका मुद्दाहरुमा प्रहरीले ३ सय २४ महिला र ५ हजार ४ सय ६८ जना पुरुष गरि कुल ५ हजार ७ सय ९२ जनालाई नियन्त्रणमा लिएको छ । १ सय २० जना महिला र १ हजार २ सय ६ जना पुरुष अझै पनि फरार अवस्थामा रहेका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा भने प्रदेशभरिबाट प्रहरीले ७ हजार ५ सय ९ वटा मुद्दाहरु दर्ता गरि ६ हजार २ सय ८४ वटा मुद्दा फर्छर्यौट गरेको थियो । जसमा प्रहरीले ४ सय २१ महिला र ६ हजार ६ सय ६२ पुरुष गरि कुल ७ हजार ८३ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको थियो ।

१ नं. प्रदेश प्रहरी कार्यालयको द्विबर्षीय कार्यप्रगति विवरण अनुसार आ.ब. २०७५/७६ को तुलनामा २०७६/०७७ मा अपराधका घटनाहरु ८.३१ प्रतिशतले घटेको देखिन्छ । लामो समयको लकडाउन र प्रहरीबाट समयसापेक्ष भएका जनचेतनामुलक कार्यक्रमहरुको प्रभाव तथा प्रहरी कारबाहीमा भएको वृद्धिका कारण पनि अघिल्लो आ.ब. मा अपराधका घटनाहरुको ग्राफ ओरालो लागेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार, १९ असोज, २०७७, बिहानको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर