भोजपुर रङ्गशालाको काम तीव्र

भोजपुर । प्रदेश सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ ।

वर्षा तथा लकडाउनमा समेत निरन्तरता दिएकाले सदरमुकाम नजिकै रहेको कोदारमा रंगशाला निर्माणको कामले गति लिएको हो ।

शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड ५ लाख रुपैयाँ लागतमा गत मङ्सिर महिनाबाट रङ्गशालाको निर्माण शुरु भएको हो । विसं २०८० सम्म निर्माण अवधि भएपनि सरकारले समयमा बजेट दिएमा सम्झौताअघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी मार्सेली जेभीले जनाएको छ ।

कम्पनीका प्रमुख श्याम श्रेष्ठका अनुसार लकडाउनको सुरुको चार महिना काम रोकिएको भएपनि त्यसयता निरन्तर छ । सरकारले समयमा बजेट पठाएमा चालु आवको असार महिनासम्म निर्माण पूरा गर्ने लक्ष्य रहेको छ ।

हालसम्म कार्यालय भवन, फाउण्डेशन लगाउनेलगायत स्टक्चरको काम ६० प्रतिशत बढी सकिएको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । २३ रोपनी क्षेत्रमा निर्माण भइरहेको रङ्गशालामा ५ हजार मानिस अट्न सक्नेगरी ७ प्याराफिट निर्माण हुने कार्यालयले जनाएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख मिलन आचार्यले अनुगमनको क्रममा ४० प्रतिशत बढी काम सकिएको पाइएको बताउनुभयो ।

कोभिडको कारण निर्माण कम्पनीलाई हालसम्म कुनै पनि भुक्तानी दिन भने नसकेको उहाँको भनाइ छ । कामलाई गुणस्तरीय बनाउनका लागि इञ्जिनीयरले नियमित रुपमा अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् ।

आइतबार, १८ असोज, २०७७, साँझको ०७:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर