विमानस्थल बिस्तारको समझदारी पत्रमा सचिव काफ्लेले हस्ताक्षर गर्ने

विराटनगर । विराटनगर विमानस्थल बिस्तारका लागि संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाबीच हुने त्रिपक्षीय समझदारी पत्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघराज काफ्ले हस्ताक्षर गर्नुहुने भएको छ ।

आइतबार अपरान्ह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सचिव काफ्लेलाई समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

विराटनगर विमानस्थलको १५ सय मिटरको धावनमार्ग ३ हजार मिटरमा बिस्तार गर्नका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण तथा निर्माण कार्य अघि बढाउने कामका लागि सोमबार त्रीपक्षीय सम्झौता हुने भएको हो ।

समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संघीय सरकारका नागरिक उड्डयन तथा संस्कृति मन्त्री योगश भट्टराईसहित नागरिक उड्यडन प्राधिकरणका पदाधिकारीहरु सहभागी हुनुहुने छ । कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुशियैत र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसमेतको उपस्थिति रहने प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश लोकसेवा आयोग र प्रदेश योजना आयोगका लागि आवश्यक पर्ने प्रमुख प्रशासकहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेश लोकसेवा आयोग र योजना आयोगले आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने प्रस्ताव आएकोले स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले व्यवसायिक सीप विकास केन्द्र झापा र ओखलढुंगाका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो ।

आइतबार, १८ असोज, २०७७, साँझको ०६:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर