विराटनगर । कोरोना संक्रमणको दर उच्च हुँदै जाँदा व्यवसायिक क्षेत्र थप जोखिममा पर्न सक्ने तर्फ मोरङमा क्रियाशिल प्रमुख तीन उद्योग वाणिज्य संघहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले चुनौतिपूर्ण अवस्थ सिर्जना हुनसक्ने तर्फ सचेत भई उच्च सतर्कता अपनाएर व्यवसाय गर्न आग्रह गरेका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र विराट व्यापार संघका अध्यक्ष सुजन थापाले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको प्रोटोकल पालना गरी उद्योग, व्यापार र व्यवसाय सुरक्षित रुपमा गर्न आग्रह गरेको हो ।
कोरोना महामारी न्यूनीकरणका लागि नेपाल सरकारले गरेको लामो लकडाउनका कारण प्रभावित उद्योग व्यापार क्षेत्र खुला हुँदै गएको बेला संक्रमण उच्च दरमा फैलिन थालेको र मृतकको संख्या पनि बढ्न थाल्नु चिन्ताको विषय भएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महामारीको ठोस उपचार विधि नआएकोले उच्च सावधानी अपनाउनुको विकल्प नभएको भन्दै आगामी दिनमा आउन सक्ने तर्फ सचेत हुन उद्योगी, व्यवसायी, कामदार, मजदुर सबैलाई विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
पछिल्लो समयमा लक्षिणसहितका संक्रमितहरुको संख्या बढ्दै गएको, चिकित्सक, स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्नुपर्ने बिरामीको संख्या बढ्दै गएको अवस्थामा अस्पतालहरुमा सैय्याको अभाव हुनसक्ने तर्फ सरकारको ध्यानाकर्षण पनि गराइएको छ । व्यवसायी संघ संगठनहरुले आइसोलेन लगायत अन्य पूर्वाधार व्यवस्थापनमा जोड दिन माग गरेका छन् ।
विज्ञप्तिमा महामारी विरुद्ध सबै स्वयं सचेत र सर्तक हुनुपर्ने भएकोले आफ्नो र अरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर दैनिकी चलाउन पनि अनुरोध गरिएको छ ।