दमक । झापाको गौरादह–१ की ६५ वर्षीया मनमाया भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा उनकै श्रीमान ६४ वर्षीय भीमबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले प्रारम्भिक अनुसन्धानका क्रममा भीमबहादुरले नै श्रीमतीको हत्या गरेको निश्कर्ष निकाल्दै उनलाई पक्राउ गरेको हो ।
बृद्धा मनमायाँ सोमबार हात पछाडी बाँधिएको अवस्थामा आफ्नै घरभित्र मृत फेला परेकी थिइन् । घटना भएको समयमा उनका श्रीमान घरमै रहेको खुलेपछि प्रहरीले उनलाई बिहीबार पक्राउ गरी जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थपेको छ । यसअघि भीमबहादुरले आफू गौरिगञ्ज गएर आउँदा घरमा श्रीमतीको हत्या भएको शव भेटिएको बताएका थिए ।
घटनास्थलको अध्ययन र पोस्टमार्टम रिर्पोटका आधारमा श्रीमान भीमबहादुरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । भिमबहादुरले १ बजे घरबाट निस्किएको बताएकोमा पोस्टमार्टम रिपोर्टमा उनको हत्या त्यही समयमा भएको खुलेको छ ।
भण्डारी दम्पत्ति लकडाउनभरि कमल गाउँपालिकाको ढ्यांग्रीस्थित घरमा थिए । उनीहरू हत्या भएको दिन बिहान १० बजे मात्र गौरादहको घरमा आइपुगेको प्रहरीले जनाएको छ ।
कमलबाट ६ महिनापछि गौरादह आएका उनीहरुको कोहीसँग दश्मनी नदेखिएको र ६ महिनापछि आएर घर पनि सफा नगरेको अवस्थामा बृद्धाको शव भेटिएको, घरमा चोरी नभएको तथा छिमेकीको बयानका आधारमा पनि श्रीमान नै हत्यामा संलग्न रहेको देखिएको प्रहरीको भनाइ छ । मनमायाको टाउको र निधारमा चोट थियो । उनीमाथि हम्बर प्रहार भएको प्रहरीको अनुमान छ ।
अभियुक्त भीमबहादुरले अपराध स्वीकार नगरेका कारण हत्याको कारण खुलिसकेको छैन ।