बन्दुक पड्काएर रकम असुल्ने समूह जेल चलान

विराटनगर । विराटनगरका व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै लाखौं रुपैयाँ असुली गर्ने गिरोहका मुख्य नाइके अभिषेक रायको समूह तथा उनलाई हतियार बिक्री गर्ने विद्यार्थी नेता अभिषेक महतोसहित ६ जना अभियुक्तहरू पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजालाशले बिहीबार उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

विराटनगरमा संगठित रूपमा अपराधको सञ्जाल विस्तार गरेका अभियुक्तहरू विरुद्ध सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै चार वटा मुद्दा दर्ता गरेको थियो । बिहीबार भएको थुनछेक बहसपछि गिरोहका मुख्य नाईके मोरङ कटहरी गाउँपालिका २ का २६ वर्षीय अभिषेक राय, २६ वर्षीय नन्दु भन्ने चन्दकिशोर साह, भारत सितामडी ग्राम पञ्चायत घर भइ विराटनगर ८ मा बस्दै आएका २७ वर्षीय राजु साह, कटहरी २ का २७ वर्षीय एलेक्स भन्ने रबिन शर्मा, विराटनगर १२ का २६ वर्षीय विकास महतो पुर्पक्षको लागि कारागार चलान भएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो ।

मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि उनीहरू विरूद्ध डाँका, हातहतियार खरखजना, अपराधिक लाभ लिन खोजिएको उद्योग र अपराधिक लाभ लिएको मुद्दा अदालतमा दर्ता भएको थियो । विद्यार्थी नेता महतो विरुद्ध अदालतमा ‘हातहतियार खरखजना’, अपराधिक लाभ लिन खोजेको तथा अपारधिक लाभ लिएको मुद्दा दर्ता भएको थियो । महतो अपराधिक लाभ लिन खोजेको मुद्दामा साधरण तारेखमा रिहा भएपनि हातहतियार खरखजना मुद्दामा पुर्पक्षको लागि कारागार चलान भएका हुन् ।

पक्राउ परेका अन्य पाँच जना प्रतिवादीहरूलाई अदालतले अपराधिक लाभ लिन खोजेको उद्योगमा जनही २५÷२५ हजार रुपैयाँ धरौटी तोकेको छ । त्यसबाहेक अन्य मुद्दामा महतोबाहेक ५ जना प्रतिवादहरूलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

विराटनगरका व्यापारी धम्काउँदै रकम असुली गरेको गिरोहलाई पेस्तोल बिक्री गरेको आरोपमा पक्राउ परेका विद्यार्थी महतोले ३५ हजार रुपैयाँ मुनाफा राखी १ लाख रूपैमाँ पेस्तोल विक्री गरेको खुलेको छ । उनले ६५ हजारमा भारतको फारबिजगन्जमा पेस्तोल खरिद गरेर १ लाखमा बिक्री गरेका थिए ।

विराटनगर १२ घर भएका २६ वर्षीय महतो अनेरास्ववियू मोरङ जिल्ला कमिटीका सचिवालय सदस्य तथा पुसेट क्याम्पस कमिटीका अध्यक्ष हुन् । नेपाल टेलिकमको टावर बनाउन ठेक्काको काम गर्दै आएका महतो पक्राउ परेपछि उनको अपराधिक कर्तुत बाहिर आएको हो ।

शुक्रबार, १६ असोज, २०७७, बिहानको ०७:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर