विराटनगर । मोरङ कारागारमा पुर्पक्षको लागि थुनामा रहेका एक बन्दीको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएपछि र अर्का कैदिमा कोरोना पुष्टि भएपछि कारागारभित्र आइसोलेशन बनाउन सुरू भएको छ ।

बुधबार मृत्यु भएका सुनसरीको इटहरी घर भएका २७ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

बन्दी र यसअघि एक जना कैदीमा संक्रमण देखिएकोले कारागारभित्र आइसोलेशन बनाउन सुरू गरिएको मोरङ कारागारका जेलर सुवास लामिछानेले जानकारी दिनुभयो । असोज १२ गते एक कैदीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोशी अस्पतालको ल्याबमा ११ असोजमा गराएको परीक्षणमा जवरजस्ती करणाी मुद्दामा कैद भुक्तान गर्दै आएका कैदीमा संक्रमण पुष्टि भएपछि उनलाई कोशीको आइसोलेनमा राखेर उपचार भइरहेको छ ।

‘कारागार भित्रका कैदीबन्दीमा संक्रमण देखिन थालेपछि उनीहरूको बस्ने कोठाका अन्यको स्वाब संकलन गर्ने तयारी भएको छ,’ जेलेर लामिछानेले भन्नुभयो, ‘मोरङका प्रमुख जिल्ला अधिकारीसँग सल्लाह गरेर अहिले संक्रमण पुष्टि भएकाहरुको क्लोज कन्ट्रयाकमा रहेकाहरूमा प्रराम्भिक चरणमा परीक्षण गर्ने तयारी छ ।’ संक्रमण देखिए कैदीबन्दीलाई कारागारभित्र आइसोलेट गरेर राखिनेछ ।

कारागारभित्र टोपी र मुढा बनाउने कोठालाई आइसोलेशनको रुपमा प्रयोग गरिने तयारी भएको छ । तत्काल बाहिर आइसोलन बनाउन सकिने सम्झावना न्यून छ,’ उहाँले भन्नुभयो, ‘परीक्षण गर्दा संक्रमित देखिए यही बनाएको आइसोलनमा राखिन्छ । स्वास्थ्यमा समस्या आएका विरामीलाई हस्पिटल लानेछौं ।’

मोरङ कारागारमा ९ सय २२ जना कैदीबन्दी छन् । जसमध्ये ८१ जना महिला रहेको जेलर लामिछानेले जानकारी दिनुभयो ।