विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ आइतबारेमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ ।
सुन्दरहरैचा ३ कि स्थानीय २९ वर्षीया धनहीरा राईले छिमेकी ३८ वर्षीया महिलामाथि कुटपिट गरेकी हुन् । पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले कुटपिटमा संलग्न राईलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आफ्नो शरीरमा धामी उत्रिएको भन्दै राई थाल बजाएर मंगलबार साँझबाट चिन्ता बसेकी थिइन् । चिन्ता हेर्न आएकी छिमेकी महिलालाई उनले बुधबार बिहान साढे चार बजेतिर बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको प्रहरीले जनाएको छ ।
महिलामाथि त्रिसूल प्रहार भएकोले पेट, हात, काँध, पाखुरालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट घाइते भएर उठ्न नसक्ने बनेकी पीडित बुधबार दिनभर ओछ्यान परेकी थिइन् । बोक्सीको तन्त्रमन्त्र गर्दैै धामीविद्यामा असर पु¥याएको भन्दै उनमाथि कुटपिट भएको हो ।
पीडित महिलाका श्रीमान अर्काे बिहे गरेर तीन वर्षदेखि झापाको सुरुङ्गामा बस्दै आएका छन् । घरमा देवरका ८ वर्षीय छोरासहित बस्दै आएकी पीडितलाई श्रीमान आएर उपचारका लागि अस्पताल लगेपछि मात्र घटना बाहिर आएको हो ।
कुटपिट गर्ने महिलाविरुद्ध बोक्सी आरोपको कसुरमा कारबाही अघि बढाउन अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनुभयो । पीडित महिलाको बेलबारीमा नै उपचार भइरहेको छ ।