विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको उर्लाबारीका बृद्ध, मोरङ कारागारका कैदी, सिरहाका बृद्ध, धनुषाका बालक र सुनसरीको इटहरीका संक्रमितको मृत्यु भएको हो ।
मोरङको उर्लाबारीका कोरोना संक्रमितको बिहीबार बिहान घरमै मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–२ कि ८४ वर्षीया कोरोना संक्रमित बृद्धाको घरमै मृत्यु भएको हो ।
बृद्धालाई दुई दिनअघि विराटनगरस्थित विराट मेडिकल कलेजबाट थप उपचार हुन नसक्ने भएपछि घर लगिएको थियो । अस्पतालमै पिसिआर परीक्षण गर्दा बृद्धमा कोरोना पोजेटिभ भेटिएको थियो । बृद्धालाई होम आईसोलेसनमा राखिएको थियो भने उनका परिवार होम क्वारेन्टाईमा बस्दै आएका छन् ।
उता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राति एक कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको अस्पताल भर्ना गरिएको १५ मिनेटमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार अत्याधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका उनलाई मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजले रेफर गरेको थियो । राति ९ः३० बजेतिर प्रतिष्ठानमा भर्ना गरिएका उनको ९ः४५ बजे मृत्यु भएको हो ।
मृतकमा स्वास्थ्य सम्बन्धी कुनै पनि पुरोना समस्या नरहेको परिवारले जनाएको छ । उनमा बुधबार नै कोरोना पोजेटिभ देखिएको थियो ।
यसैगरी मोरङ कारागारमा पुर्पक्षको लागि थुनामा रहेका एक बन्दीको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको इटहरी घर भएका २७ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई स्वास्थ्यममा समस्या देखिएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बुधबार राति मृत्यु भएको थियो । उपचारको क्रममा मृत्यु भएपछि उनको स्वाब संलकन गरेर परीक्षण गर्दा बिहीबार विहान कोरोना पुष्टि भएको कोशी अस्पतालका प्रवक्ता तथा फिजिसियन डा. लक्ष्मीनारयण यादवले जानकारी दिनुभयो ।
बिहीबार नै विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत सप्तरी घर भएका कोरोना भाइरस संक्रमित पुरुषको बिहीबार मृत्यु भएको छ । पोजोटिभ रिपोर्ट आएपछि आइसोलेसनमा भर्ना गर्ने तयारी भइहरेको बेला सप्तरीको विसनपुर–५ घर भएका ६७ वर्षीय पुरुषको बिहीबार दिउँसो १ः५० बजे मृत्यु भएको हो ।
विराटनगरकै म्याक्स अस्पतालबाट रेफर भएर बुधबार साँझ नोबेलको आकस्मिक कक्षाको आईसीयूमा भर्ना गएिका उनको स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएसँगै म्याक्सले नोबेलमा रेफर गरेका उनको नोबेलले स्वाब संकलन गरेर आफ्नै प्रयोगशालामा पीसीआर परीक्षण गरेको थियो । दिउँसो १ः४५ बजे उनको पोजेटिभ आएकोकोमा ५ मिनेटपछि मृत्यु भएको हो ।
यसैगरी मोरङको टंकिसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत ६ वर्षीय कोरोना संक्रमित बालकको मृत्यु भएको छ । असोज ८ गते कोरोना पुष्टि भएका धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ६ वर्षीय बालकको बिहीबार अपरान्ह साढे ४ बजे मृत्यु भएको हो ।
बालकलाई असोज ९ गते विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको कलेजले जनाएको छ । अत्याधिक ज्वरोका कारण असोज पहिलो साता विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा भर्ना गरिएका बालकलाई कोरोना देखिएपछि विराटको आइसोलेसनमा राखिएको थियो । बालकलाई मेनेन्जाइटिस भएर अस्पताल भर्ना भएको बताइएको छ ।
योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । जसमा प्रदेश नंं २ का १६ जना छन् । प्रदेशमा मोरङका ३७ जना, सुनसरीका १५ जना, झापाका ७ जना र ताप्लेजुङका एक जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।