विराटनगर । मोरङको टंकिसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत ६ वर्षीय कोरोना संक्रमित बालकको मृत्यु भएको छ ।
असोज ८ गते कोरोना पुष्टि भएका धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ६ वर्षीय बालकको बिहीबार अपरान्ह साढे ४ बजे मृत्यु भएको हो ।
बालकलाई असोज ९ गते विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको कलेजले जनाएको छ ।
अत्याधिक ज्वरोका कारण असोज पहिलो साता विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा भर्ना गरिएका बालकलाई कोरोना देखिएपछि विराटको आइसोलेसनमा राखिएको थियो । बालकलाई मेनेन्जाइटिस भएर अस्पताल भर्ना भएको बताइएको छ ।
यसैबीच आइसोलेशन चार्जबाहेक औषधि र अन्य शुल्क करिब तीन लाख रुपैयाँ उठेकोमा बालकको परिवारको आर्थिक अवस्था कमजोर रहेको बुझेपछि सबै मिनाहा गरिएको मेडिकल कलेजले जनाएको छ ।

