लोड हुँदैछ...

मेनु

एलिट क्लबद्वारा डा.केसीको आन्दोलनप्रति ऐक्यबद्धता

एलिट क्लबद्वारा डा.केसीको आन्दोलनप्रति ऐक्यबद्धता

विराटनगर । एलिट क्लब विराटनगरले विभिन्न माग राखेर १६ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
एलिट क्लबले डा.केसी अनसन बसेको सन्दर्भमा ऐक्यवद्धता जनाउँदै विगतमा पनि पटक–पटक कार्यक्रमहरु गरिरहेको छ ।

मंगलबार पनि क्लबले केसीको मागको बारेमा छलफल गरेको जनाएको छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष उत्तम पुढासैनीले डा.केसीको आन्दोलनउपर नेपालका राजनीतिक दल उदासीन रहेको आरोप लगाउँदै मागका विषयमा अविलम्ब वार्ता थाल्न सरकारसँग आग्रह गर्नुभयो । आफ्नो ज्यान राष्ट्रका लागि अर्पण गरिसकेका केसीका पक्षधरहरुले माग पूरा गराउन दवाब दिनुको साटो जीवन रक्षाको माग गरेकोमा उहाँले आश्चर्य व्यक्त गर्नुभयो ।

नेपाल मेडिकल एशोसिएसन कोशीका अध्यक्ष डा.फरवार्ड सिलवालले डा.केसीले उठाएका कतिपय मागहरु पुनर्विचार गर्न लायक भएपनि महत्वपूर्ण माग पूरा गर्नका लागि सरकारले पहल गर्न ढिलो गर्न नहुने सुझाव दिनुभयो । अस्पतालहरुमा आकश्मिक कक्ष र कोविड कक्ष मात्र सञ्चालनमा रहेको बेला डा. केसीको समर्थनमा कसरी आन्दोलित हुने भन्ने विषय आफैंमा जटिल रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका सचेतक सुयर्माराज राईले संविधानमा व्यवस्था भए बमोजिम समाजवाद उन्मुख समाज निर्माण गर्ने हो भने शिक्षा र स्वास्थ्य सम्पूर्ण रुपमा सरकारी स्वामित्वमा हुनुपर्ने बताउनुभयो । विराटनगरका पूर्वमेयर रमशेचन्द्र पौडेलले डा.केसीले उठाएका स्वास्थ्य र शिक्षाको आधारभूत माग आम जनताको माग रहेको उल्लेख गर्दै राजनीतिक मागबाट उहाँ पछि हट्नुपर्ने सुझाब दिनुभयो ।

एलिट क्लबका निवर्तमान अध्यक्ष डा. भेषप्रसाद धमलाले गोविन्द केसीको सत्याग्रहप्रति सरकार संवेदनशील हुनुपर्ने सुझाव दिनुभयो । एलिट क्लबका पूर्व महासचिव दिनेश श्रेष्ठले गोविन्द केसीले आम जनताको भावना बोलिरहेको बताउँदै उहाँले उठाएका माग र उहाँसँगका विगतका सम्झौता लागू गर्न सरकारसँग माग गर्नुभयो ।
क्लबका अध्यक्ष विश्वनाथ रिजालको अध्यक्षतामा भएको छलफलमा प्रा.डा. मीनराज ढकाल, नेपाल प्रजातान्त्रिक महासंघका रामचन्द्र गौतिम, मानव अधिकार सञ्जाल मोरङ अध्यक्ष डिक घिमिरे, गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष विजेता अधिकारीले पनि विचार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।