दमक । घुस लिएको आरोपमा झापाको दमकका ४ जना प्रहरी निलम्बनमा परेका छन् । पैसाको लेनदेन गरेको भेटिएपछि एक जना असई, एक हवल्दार, एक जवान र एक जना ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार बिलबिना युरिया मल ल्याउँदै गरेको ट्याक्टर ताराबारी ढाटमा बसेका प्रहरीले समातेका थिए । तर, माथिल्लो तहमा खबरै नगरी उनीहरुले ट्याक्टर छोडेको खुलेको छ ।
प्रहरीको चेन अफ कमान्ड उल्लघंन गरेको आरोपमा उनीहरुलाई निलम्बनमा गरेर अनुसन्धान थालिएको पण्डितले जानकारी दिनुभयो । असई भरत कोइरालासहित हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल निलम्बनमा परेका हुन् ।
उनीहरुले भदौ २४ गते बेलुका ताराबारीमा उनीहरूले मलसहितको ट्याक्टर समातेका थिए । उनीहरूले ६५ हजार रुपैयाँ लिएर ट्याक्टर छाडेको आरोप छ ।

