विराटनगर । विराटनगर– १० स्थित बि.के.एम. मसला उद्योगले अत्याधिक मुनाफा राखेर उत्पादन बेच्ने गरेको पाइएको छ ।
प्रतिकेजी ४ सय ५२ रुपैयाँमा पाइने मसला १ हजार २०० रुपैयाँमा बिक्री गरेको अनुगमनका क्रममा फेला परेको हो ।
लागत मूल्यभन्दा तीनगुणा बढीमा मसला बिक्री गरेको अनुगमन टोलीले फेला पारेपछि उक्त मसला उद्योगलाई वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवना गरेको छ ।
‘एक केजीमा ५० ग्रामको ३० प्याकेट मसला हुने रहेछ,’ वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले भन्नुभयो, ‘प्रतिकेजी ४५० मूल्य पर्ने मसलाको एमआरपी १ हजार २ सय राखेर बिक्री गरेको भेटियो ।’ बि.के.एम. मसला उद्योगले अनुचित क्रियाकलाप गरि अधिकतम मुनाफा राखेर मसला विक्री गरेको भेटिएपछि उपभोक्ता संक्षरण ऐन अनुसार पहिलो पटक २ लाख रुपैयाँ जरिवना गरेर कारवाही गरेको उहाँले बताउनुभयो । गरम मसलाको मूल्य १५० प्रतिशतभन्दा बढि बृद्धि गरेपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३० प्रतिशत भन्दा बढी मूल्य लिएमा २ लाख देखि ३ लाख रुपैयासम्म जरिवाना लाग्ने कानुनी प्रावधान छ । कार्यालयले त्यहि प्रावधानमा टेकेर पहिलो पटक भएकाले २ लाख रुपैया जरिवाना तोकिएको उहाँले बताउनुभयो ।
लकडाउनको बाहानामा विराटनगरका बजारमा तरकारी, खाद्यन्न लगायतको मूल्यमा बृद्धि भएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले अनुगमनलाई तिव्रता दिएको छ ।
हरियो तरकारी, आलु, प्याज, गोलभेडा, खानेतेल चियापत्ति मसलालगायत अन्य खाद्यबस्तुहरुमा अत्याधिक मुल्य बृद्धि भएको गुनासो आएपछि बजार अनुगमनलाई तिव्रता दिइएको हो ।