विराटनगर । सस्तोमा किनेको प्याज दोब्बर भन्दा बढी मूल्य लिएर बेचेको अभियोगमा पक्राउ परेका विराटनगरका दुई जना व्यापारी ८० हजार रुपैयाँ धरौटी बुझाएर प्रहरी हिराशतबाट छुटेका छन् ।
विराटनगर महानगरपालिका ९ का ३८ वर्षे सञ्जयकुमार गुप्ता र सोही ठाउँका २९वर्षे मुकेशकुमार सहनी जनही ४० हजार रुपैयाँ धरौटी बुझाएर शुक्रबार हिराशत मुक्त भएका हुन् ।
भारतले प्याज निर्यात बन्द गरेपछि बजारमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाएर बिक्री गरिरहेको सूचनापछि मोरङ प्रहरीले स्ट्रिङ अप्रेसन गरी असोज २ गते विराटनगर गुद्री बजारका दुई जना तरकारी व्यापारीलाई पक्राउ गरेको थियो ।
प्रहरीले ४ असोजमा जिल्ला प्रशासन कार्यालय मोरङमा कालोबजारी र केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्र्तगत मुद्दामा म्याद थप गरि अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाएको थियो । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको इजालशले पक्राउ परेका दुवै जनालई जनही ४० हजारका दरले धरौटी लिएर पुर्पक्षमा राख्न आदेश दिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका गुप्ता र सहनीले ४१ रुपैयाँमा खरिद गरेर ल्याएको प्याज ९५ रुपैयाँका दरले बिक्री गरेको भेटाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका गुप्ताको बिजयकुमार योगेस पसल र मुकेशको तनिसा ट्रेडर्सबाट प्याजको कालोबजारी भएको अनुसन्धानका क्रममा खुलेको थियो ।