असोजको झरीले डुब्यो विराटनगर (फोटो फिचर)

विराटनगर । असोज महिनाको सुरुबाटै सुरुभएको लगातारको वर्षाले प्रदेश १ को राजधानी विराटनगरको अधिकांश क्षेत्र डुवानमा परेको छ । तीन दिनदेखि परेको वर्षाको कारण विराटनगरको दक्षिणवर्ति क्षेत्र बढी प्रभावित भएको हो ।

पानीको निकास नभएका कारण सामान्य वर्षाले पनि विराटनगर १५ डुवानमा पर्ने गरेको छ । अहिले ९ दिनदेखि नियमित वर्षा भइरहेको र पछिल्ला दिनहरुमा घनघोर पानी परेका कारण अधिकांश क्षेत्रमा पानी जमेर जनजीवनलाई कठिन बनाइदिएको विराटनगर १५ का वडाध्यक्ष असलम आलमले जानकारी दिनुभयो । ‘विराटनगरको उत्तरी भेकबाट आएको पानीले निकास नपाउँदा यहाँका धेरै घर डुवानमा परेका छन्,’ वडाध्यक्ष आलमले भन्नुभयो, ‘पानीको निकास हुने साइफन थप गर्न महानगरपालिका र सडक विभागलाई पनि जानकारी गराएको छु ।’

विराटनगरको दक्षिण भेग डुवानमा परेपछि शुक्रबार विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलासहितको टोलीले निरीक्षण गर्नुभएको थियो ।

लगातार परेको वर्षाको कारण विराटनगर १२, १३, १४, १५, १६, १७ र १८ वडाका अधिकाशं घरमा पानी पसेर डुवान भएको छ । विराटनगरको दक्षिणी क्षेत्रका अधिकाशं बस्तीहरु डुबानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । नगर क्षेत्रका बाटाघाटा जलमग्न भएपछि सर्वसाधारणलाई सवारी साधन कुदाउन र आउजाउ गर्न समस्या भएको छ । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कार जस्ता साना सवारी साधनहरु चलाउनसमेत समस्या भएको छ । वर्षाले गर्दा स्कुल, अस्पताल, सरकारी कार्यालय र सर्वसाधारणका घरमा समेत पानी पसेर हैरानी थपिदिएको छ ।

शुक्रबार, ०९ असोज, २०७७, दिउँसोको ०४:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर