श्रीमतिले पहिले नै विवाह गरेको खुलेपछि आत्महत्या

धरान । झापाको शिवसताक्षी नगरपालिका माइधार घर भएका एक युवा सुनसरीको धरानस्थित एक होटलमा मृत फेला परेका छन् ।

घटनापछि होटलमा उनीसँगै बसेका ३ युवतीलाई सोधपुछको लागि नियन्त्रणमा लिएर छाडेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धरानको बरगाछी ग्रिलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नालको शव धरान १८ स्थित सोलुखुम्बु होटलमा झुन्डिएको अवस्थामा फेला परेको हो । दर्नालको शव पलंगमा अ‍ेछ्याएको तन्नाको पासो लगाएर पंखा झुन्डाउने रडमा झुन्डिएको अवस्थामा मङ्गलवार राति फेला परेको थियो ।

प्रहरीले घटनापछि उनीसँगै होटलमा बस्ने २३ वर्षीय सीता श्रेष्ठ, २१ वर्षीय कञ्चन र २४ वर्षीय सुस्मिता श्रेष्ठलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार दर्नालले १ महिना अगाडि सीता श्रेष्ठसँग विवाह गरेका थिए । त्यसबारे उनले परिवारलाई जानकारी दिएका थिए ।

तर, सीताले त्यसअघि नै अर्को विवाह गरेको र एउटा बच्चा पनि भएको खुलेको छ । सीताले भने दर्नालसँग दोस्रो विवाह नगरेको बताएकी छन् । मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे यकिन हुने प्रहरीले जनाएको छ ।

घटनामा कुनै जाहेरी नपरेकोले प्रहरीले पक्राउ परेकाउपर कुनै मुद्दा चलाएको छैन । सोधपुछका लागि नियन्त्रणमा लिएका तीन जनालाई पनि छाडेको छ । प्रहरीले मृतक सन्तोषले भर्खर विवाह गरेकी श्रीमतीको अर्काे श्रीमान र बच्चा समेत रहेको थाहा पाएपछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

सोलुखुम्बु होटलमा सन्तोष र सीता केही दिनदेखि बस्दै आएको खुलेको छ । सन्तोष र सीता होटलमा बसेको भोलिपल्ट दुई जना युवती पनि गएर छुट्टै कोठामा बसेको पाइएको प्रहरीले जनाएको छ ।

बिहिबार, ०८ असोज, २०७७, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर