पैसा असुल्दै भारतीलाई नेपाल प्रवेश गराउने पक्राउ

विराटनगर । नेपाल–भारत सीमा नाका शिल गरिएको अवस्थामा पैसा लिएर भारतीय नागरिकलाई चोरबाटो हुँदै नेपाल प्रवेश गराउने दुई जना पक्राउ परेका छन् ।
भारतमा तीव्र रूपमा कोरोना भाइरस फैलिरहेको अवस्थामा पैसा लिएर भारतीय नागरिकलाई नेपाल प्रवेश गराएको आरोपमा दुई जनालाई बुधबार सीमा नाकाबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल बिओपी रानीले भारतीय नागरिक नेपाल प्रवेश गराउने काममा सक्रिय विराटनगर १६ दक्षिण गेटका २८ वर्षीय विकास बस्नेत र ४६ वर्षीय शंकर दासलाई पक्राउ गरेको छ । उनीहरूले भारतीय नागरिकलाई नेपाल प्रवेश गराए वापत प्रतिव्यक्ति ६ सयमाथि रकम लिएको पाइएको सशस्त्र प्रहरी बल बिओपी रानीका प्रमुख प्रहरी निरीक्षक मौसम पोखरेलले जानकारी दिनुभयो ।

उनीहरूले व्यक्ति हेरेर पैसा असुली गर्ने गरेको पाइएको छ । ‘कोरोना संक्रमण रोक्न अहिले राज्यले सीमा नाका शिल गरेपछि सिमा क्षेत्रमा रहेका गिरोहको धन्दा अहिले यही भएको छ,’ सुरक्षा स्रोतले भन्यो, ‘अहिले दैनिकजसो सीमा बसेर सुरक्षामा खटिएको प्रहरीको आँखा छल्दै गिरोहले भारतीयलाई नेपाल प्रवेश गराउँछन् । प्रहरीले देखे नियन्त्रणमा लिन्छ, नत्र नेपाल पस्छन् ।’

गिरोहले नेपाल प्रवेश गराउने भारतीय नागरिकहरूमा कामदारहरू धेरै छन् । उनीहरूलाई यहाँ रहेको उद्योगले बोलाउने भएकोले चोरबाटो हुँदै यस्तै गिरोहको साहरामा नेपाल प्रवेश गर्दछन् ।

गिरोहलाई पैसा दिएर लुकिछुपी नेपाल प्रवेश गरेका तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाएको छ भने पक्राउ परेका दुई जनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरमा थप कारवाहीको लागि सशस्त्र प्रहरी बल बिओपी रानीले जिम्मा लगाएको छ ।

पैसा लिएर भारतीय नागरिक नेपाल प्रवेश गारउने विरुद्ध म्याद थप गरि अनुसन्धान गर्ने इप्रका रानीका प्रमुख प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो । भारतीय नागरिकलाई छुकीछुपी नेपाल प्रवेश गराउनेमाथि थप अनुसन्धान भइरहेको भन्दै उहाँले पक्राउ परेकाले अरु कतिलाई नेपाल छिराए भन्ने विषयमा पनि अनुसन्धान हुने उल्ल्ेख गर्नुभयो ।

पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गर्ने जनाएको छ । यसअघि पनि भारतीय नागरिकलाई नेपाल छिराउने गिरोहलाई सशस्त्र प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो ।

बिहिबार, ०८ असोज, २०७७, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर