बजारमा अभाव हुँदा ल्यापटपको मूल्य बढ्यो

विराटनगर । उपभोक्ताको माग बढेपछि बजारमा ल्यापटप कम्प्युटरको अभाव भएको छ । बजारमा माग बढेपछि ल्यापटप तथा आइप्याडहरुको मूल्यसमेत बढेको छ ।

ल्यापटप प्रयोगकर्ताको संख्या पछिल्लो समय अस्वभाविक रुपमा बढ्दा व्यवसायीसँग भएको आधिकांश बिक्रेताको मौज्दात सकिएको र भएकासँग पनि उपभोक्ताहरुको रोजाई अनुसारको वस्तु अभाव छ । बजारमा अभाव भएपछि २० देखि २५ प्रतिशतसम्म मूल्य बढेको छ ।

केही समय अघिसम्म ४२ हजारमा पाइने ल्यापटप अहिले ५२ हजारमा बिक्री भइरहेको व्यवसायीहरुले बताएका छन् । ४० देखि ६० हजार रुपैयाँसम्ममा पाइने ल्यापटपको मूल्य न्यूनतम ८ हजारदेखि १० हजारसम्मले बढेको उनीहरुले जानकारी दिएका छन् ।

एकातिर आयातमा कमी हुनु अर्कोतिर माग अधिक बढ्नुले बजारमा एकप्रकारको असन्तुलन देखिएको छ । जसले गर्दा वस्तुको मूल्य बेढेको हो । नेपालमा चैत्र महिनापछि ल्यापटपलगायत इलेक्ट्रोनिक सामानको आयात न्यून छ । विश्वव्यापी कोरोना महामारीका कारण यस्ता वस्तुको उत्पादन तथा वितरण प्रणाली प्रभावित हुँदा सहजरुपमा आयात नभएको विराटनगर स्थित स्कोन कम्प्युटर सप्लायर्सका अनिल अग्रवालले जानकारी दिनुभएको छ ।

नेपालका ल्यापटप सप्लायर्सहरुले सहजरुपमा सप्लाई दिन नसक्दा बजारमा उपभोक्ताले खोजेको वस्तु पाउन गाह्रो हुने अवस्था रहेको अग्रवालले जानकारी दिनुभयो । पछिल्लो समय साना विद्यार्थीहरु ल्यापटपका नयाँ प्रयोगकर्ताको रुपमा थपिएका छन् । झण्डै ७ महिनादेखि विद्यालय बन्द हुँदा अधिकांश निजी विद्यालयहरुले अनलाईनमार्फत अध्यापन गराउन थालेको र त्यसका लागि ल्यापटप वा मोवाइल अनिवार्य हुने भएकोले माग बढेको हो ।

विराटनगरका सयभन्दा बढी निजी विद्यालयहरुमध्ये असोज १ गतेपछि अधिकांशले अनलाईनमार्फत पठनपाठन सञ्चालन गरिरहेका छन् । असोजअघि केही विद्यालयहरुले मात्र अनलाईन कक्षा सञ्चालन गरेका थिए । त्यसले पनि बजारमा ल्यापटपको माग बढाएको हुनसक्ने प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले बताउनुभयो ।

‘असोज १ पछि धेरैले अनलाईनमार्फत पढाउन थालेका छन्, त्यसअघि पनि केही विद्यालयहरुले अनलाईन कक्षा चलाएका थिए,’ अध्यक्ष राईले भन्नुभयो ‘अनलाईन कक्षा चलाउँदा विद्यार्थीलाई ल्यापटप वा मोवाइल अनिवार्य हुनु स्वभाविक हो ।’ विराटनगर प्याब्सनमा ७२ वटा विद्यालय आवद्ध भएका छन् भने नेपाल प्याब्सनमा ३० भन्दा बढी विद्यालयहरु आवद्ध छन् । विराटनगर महानगरपालिकाका कुल विद्यार्थी संख्यामध्ये करिव ७० प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययन गर्ने गरेका छन् ।

कोरोना महामारीका कारण विश्वनै प्रभावित भएको र उत्पादन तथा वितरणमा समेत प्रभाव परेकोले अन्तर्राष्ट्रिय रुपमै ल्यापटपको माग र मूल्य बढेको व्यवसायी अनिल अग्रवालले जानकारी दिनुभयो । बजारमा माग बढेपछि स्वभाविक रुपमा मूल्य बढ्ने भएपनि अहिलेको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको परिवर्तनका कारण भएको उहाँको भनाई छ ।

बुधबार, ०७ असोज, २०७७, बिहानको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर