लकडाउनमा पनि तरकारीको आयात बढ्यो

विराटनगर । लकडाउन अवधिमा विराटनगर भन्सारबाट १८ करोड ६६ लाख रुपैयाँ मूल्य बराबरको आलु र प्याज आयात भएको छ ।

कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणका लागि गत चैत्र ११ गतेदेखि साउन ६ गते सरकारले देशव्यापी रुपमा १ सय २१ दिने लकडाउन गरेको थियो । सो समयमा विराटनगर भन्सारबाट अघिल्लो बर्षको भन्दा तुलनामा सबैभन्दा बढी ६ हजार १ सय १९ मेट्रिक टन आलु र प्याजको आयात भएको पाईएको छ । लकडाउनको ४ महिनाको अवधिमा १० करोड ४ लाख ७६ हजार २ सय ७१ रुपैयाँ मूल्यको आलु र ८ करोड ६१ लाख २७ हजार ३ सय ६३ रुपैयाँ मूल्यको प्याज आयात भएको छ ।

जबकि आर्थिक बर्ष २०७५/७६ को सोही अवधिमा विराटनगर भन्सारबाट १७ करोड ४७ लाख ५२ हजार ८ सय ७२ रुपैयाँ मुल्य बराबरको ६ हजार ५ सय ५० मेट्रिक टन आलु र प्याज आयात गरिएको थियो । अघिल्लो बर्षको तुलनामा गत बर्षको सोहि अवधिमा आयात भएको आलु र प्याजको परिमाण र मूल्य पनि बढेको छ । अघिल्लो बर्षको तुलनामा आलु र प्याजको आयात ६ दशमलव ३५ प्रतिशतले बढी रहेको भन्सार कार्यालयले जनाएको छ ।

गत चैतमा २ करोड १९ लाख ६८ हजार ४ सय ७० रुपैयाँ मुल्य बराबरको ८ सय १९ मेट्रिक टन आलु र २ करोड ७३ लाख ५७ हजार ६ सय २१ रुपैयाँ मुल्य बराबरको ६ सय ९४ मेट्रिक टन प्याज आयात भएको थियो । बैशाखमा २ करोड ६९ लाख २९ हजार ४ सय ४० रुपैयाँ मूल्य बराबरको ९ सय ९९ मेट्रिक टन आलु र प्याज आयात गरिएको थियो भने जेठमा ६ करोड २९ लाख ८० हजार १ सय ५६ रुपैयाँ मूल्यको २ हजार ५४ मेट्रिक टन र असारमा ४ करोड ७३ लाख ६७ हजार ९ सय ४६ रुपैयाँ मुल्य बराबरको १ हजार ५ सय ५१ मेट्रिक टन आलु र प्याज आयात गरिएकोे विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत गोपी कृष्ण उप्रेतीले जानकारी दिनुभयो ।

अघिल्लो बर्ष अर्थात २०७५/०७६ को चैतमा ६ करोड ६९ लाख मूल्य बराबरको २ हजार ५ सय २ मेट्रिक टन, बैशाखमा ४ करोड ८७ लाख मूल्य बराबरको १ हजार ८ सय ७० मेट्रिक टन, जेठमा ४ करोड ३५ लाख मूल्य बराबरको १ हजार ६ सय ४९ मेट्रिक टन र असारमा १ करोड ५४ लाख मूल्य बराबरको ५ सय २८ मेट्रिक टन आलु र प्याज आयात गरिएको विराटनगर भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । लकडाउनमा आम उपभोक्ता तथा व्यापारीहरुले पनि बिशेषगरि आलु र प्याज अभाव हुने डरले खरिद पनि धेरै गरेकोले आलु र प्याजको आयात बढी भएको भन्सार कार्यालयको विश्लेषण छ ।

गत चैत्र ११ देखि असार मसान्तसम्मको अवधिमा भन्सारबाट कुल ३२ करोड ५३ लाख रुपैयाँ मूल्य बराबरको आलु, प्याज, गोलभेडा, लसुन, च्याउ र अन्य हरियो सागसब्जीहरु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ करोड ५६ लाख ५५ हजार ४ सय ७० रुपैयाँ बराबरको ७ हजार ३ सय ९० मेट्रिक टन आलु, हरियो प्याज, गोलभेडा, लसुन, काउली, बन्दागोभी, बोक्राउली, सुकेको प्याज र च्याउ सहित अन्य हरियो सागसब्जी लगायतका तरकारीहरु आयात भएका थिए ।

विराटनगर भन्सारबाट चालु आर्थिक बर्षकै भदौ मसान्तसम्म भने कुल ७ करोड ३० लाख १ हजार ८ सय ६५ रुपैयाँ मूल्य बराबरको २ हजार ६ सय ६४ मेट्रिक टन आलु र प्याज आयात गरिएको विराटनगर भन्सार कार्यालयकी सुचना अधिकारी सुनिता पौडेलले स्पष्ट पार्नुभयो ।

त्यसबाहेक चालु आ.ब. मा १२ करोड ५२ लाख ७० हजार ५ सय ५६ रुपैयाँकोे १ हजार ९ सय ५८ मेट्रिक टन गाँजर, मुला, हरियो लसुन, सलगम, काँक्रा, गोलभेडा र अन्य ताजा सागसब्जीहरु आयात भएको विराटनगर भन्सारले जनाएको छ ।

बुधबार, ०७ असोज, २०७७, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर