इलाम । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियान अन्तर्गत इलाम प्रहरीले १० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।
२०६४ सालमा झापा साधुहोली जंगलमा सामूहिक बलात्कार गरी फरार रहेका इलामको चुलाचुली गाउँपालिका–३ का ३० वर्षीय मिलन राई भनिने अनिश राई र ३१ वर्षीय जितकुमार राई भन्ने निश्चल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । दुवैलाई २०६७ फागुन ११ मा जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही २१ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
उनीहरुलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय इलाममा पठाइएको प्रहरीले जनाएको छ । उक्त मुद्दाका एकजनाले जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् । एकजना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
त्यसैगरी ठगी मुद्दा, कर्तव्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दा फरारहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयबाट खोततलासको क्रममा ठगी मुद्दाका सूर्याेदय नगरपालिका–२ का ३२ वर्षीय सन्तोष बस्नेत, हातहतियार खरखजना मुद्दाका इलाम सूर्याेदय–५ का ४४ वर्षीय मोटे देवान भन्ने हर्कबहादुर लिम्बू र कर्तव्य ज्यान मुद्दाका माईजोगमाई गाउँपालिका–२ का विष्णुकुमार राई पक्राउ परेका छन् ।
बस्नेतलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, लिम्बूलाई ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना र राईलाई ५ महिना ६ दिन कैद र २० रुपैयाँ जरिवाना तोकिएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।