विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ११९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् । मोरङको कटहरीमा २ महिला र ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ५ महिला र ४ पुरुष, झापाको विर्तामोडमा १ पुरुष, मेचीनगरमा १ महिला, उदयपुरको त्रियुगा र संखुवासभाको चैनपुरमा १–१ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ ।
प्रदेश १ मा सोमबार १६ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३–३ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ५५२ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा गएको २४ घण्टामा ९७६ जनाको पीसीआर परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख १६ हजार ५५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।