प्याजको कालोबजारी : ४५ मा किनेर सयमा बिक्री

कालोबजारीमा संलग्न विराटनगरका दुई व्यापारी पक्राउ

विराटनगर । भारतले निर्यात बन्द गरेको बहानामा मूल्य अत्याधिक बढाएर प्याजको कालोबजारी गरेको आरोपमा दुई जना तरकारी व्यापारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

खरिद मूल्य भन्दा दोब्बरमा प्याजको विक्री वितरण गरि कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर–९ पुरानो गुद्रीका तरकारी व्यापारीलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ९ का ३८ वर्षीय सञ्जयकुमार गुप्ता र २९ वर्षीय मुकेशकुमार सहनी छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले कालोबजारी र केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्र्तगत जिल्ला प्रशासन कार्यालय मोरङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।

पक्राउ परेका व्यापारीले ४१ रुपैयाँमा खरिद गरेको प्याज ९५ देखि एक सय रुपैयाँ प्रतिकेजीमा बिक्री गरिरहेका थिए । ‘भारतबाट प्याजको आयात रोकिएको मौकामा खरिद गरेको मूल्यभन्दा दोब्बर बढीमा विक्री गरेको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेका छौं’ एसपी खड्काले भन्नुभयो । पक्राउ परेका व्यापारीले कति परिमाणमा कालोबजारी गरि प्याज बिक्री गरेका थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्ताले विजयकुमार योगेस पसल र मुकेशले तनिसा ट्रेडर्स पसलबाट प्याजको कालोबजारी गर्ने गरेको प्रहरीले जनाएको छ । ‘गुद्रीको पसलबाट प्याजको कालोबजारी भइरहेको गोप्य सूचना आएपछि प्रहरीले स्ट्रिङ अप्रेसनमा कालोबजारी गर्ने व्यापारी पक्राउ गरेको हो,’ एसपी खड्काले भन्नुभयो ।

आइतबार, ०४ असोज, २०७७, साँझको ०७:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर