विराटनगर ।  समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगरमा अशक्त र वृद्धा, बालबालिकाहरूको स्वाब संकलन गर्न मोबाइल भने निर्माण गरि सञ्चालनमा ल्याएको छ । मोवाइल भेन महानगरपालिकाभित्र शनिबारदेखि सञ्चालनमा आएको छ ।

नेपालकै पहिलो गाडी उत्पादनकर्ता हुलास कम्पनीले ४ लाख लागतमा मोबाइल स्वाब भेनको निर्माण गरिदिएको हो ।

भेनमा सेन्सर सेनिटाइजर, भित्रैबाट बाहिर निर्देशन दिन सकिने व्यवस्था मिलाइएको छ । संकलन गरिएको स्वाब परीक्षण गरिन कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा पठाउने गरिएको छ ।

रोटरी क्लब अफ विराटनगरको सहयोगमा निर्माण भएको उक्त मोबाइल स्वाब भेनको साँचो शुक्रबार विराटनगर महानगरका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरियो ।

स्वाब भेनको साँचो बुझ्दै पराजुलीले मोबाइल स्वाब भेनबाट विराटनगरका वृद्ध ,बालबालिका, अपाङ्ग तथा सुत्केरीहरुलाई सेवा दिइने जानकारी गराउनुभयो । मोबाइल स्वाब भेन सञ्चालनमा आएपछि अशक्त र वृद्धाहरूलको स्वाब संकलनमा सहज हुने विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या शुक्रबारसम्म ५ हजार ४३७ पुगेको छ । महानगरपालिका भित्र १ हजार ५ सय बढी संक्रमित पुगेका छन् । विराटनगर महानगरपालिकाभित्र १८ जना संक्रमितको मृत्यु भइसेको छ ।