विराटनगर । कृषकहरू घण्टौं लाइनमा बस्दा पनि मल नपाएर भौतारिँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको सयौं बोरा युरिया मल लिलामी नहुँदा भन्किएर बसेको छ ।
विराटनगर भन्सार कार्यालय र सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा सयौं बोरा युरिया मल थन्किएको छ । विराटनगर भन्सारमा करिब १ सय बोरा र सुनसरी भन्सारमा १ सय २८ बोरा यूरिया मल थन्किएर बसेको छ । प्रहरीले बरामद गरेको मल अहिले सिजनमा चाँडै लिलामी गरे केही हदसम्म कृषकले बालीमा मल लगाउन पाउने किसानहरु बताउँछन् ।
विराटनगर भन्सार कार्यालय प्रमुख शिवप्रसाद भण्डारीले बरामद गरि भन्सार बुझाएको रासायनिक मलको मोटो परीक्षण केन्द्रबाट ढिलो गरि रिपोर्ट आउँदा लिलामी प्रक्रिया ढिलो हुने गरेको बताउनुभयो । उहाँका अनुसार यसअघि बरामद भएको करिब २ सय मल लिलामी गरि बिक्री भइसकेको जानकारी दिनुभयो । बरामद भएको मलको परीक्षण गर्न झुम्कास्थित माटो परीक्षण केन्द्रमा पठाउने गरेको छ ।
सुनसरीमा साउनदेखि हालसम्म विभिन्न स्थानबाट प्रहरीले ४ सय २५ बोरा तस्करीको रासायनिक मल सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको भन्सार अधिकृत प्रमोदकुमार दासले जानकारी दिनुभयो । तीमध्ये १ बोरा पोटास र ४ बोरा डिएपी बाहेक अरू सबै युरिया रहेकोे उहाँले बताउनुभयो । ४ सय २५ बोरा रासायनिक मलमध्ये १२ सय ६९ रुपैयाँका दरले २ सय ९७ बोरा मल लिलाम गरिएको र बाँकी १ सय २८ बोरासमेत छिट्टै लिलाम गर्ने तयारी गरेको उहाँको भनाइ छ । खेतीको सिजन भएको हुँदा यतिबेला किसानलाई मल आवश्यक पर्ने भएकोले अरू कामभन्दा मलको लिलाम प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।