विराटनगर । सिमावर्ति भारतीय बजार जोगवनीबाट गिरोह मार्फत पूर्वी नेपालका विभिन्न स्थानमा माछाजन्य वस्तु तस्करीको धन्दा सञ्चालन हुने गरेको पाइएको छ । जोगवनीको टिकुली वस्तीबाट नेपाल तर्फ ठूलो परिमाणमा माछाको सिद्रा र माछा तस्करी हुने गरेको तथ्य प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ ।
कोरोनाको कारणले सरकारले भारतदेखि माछा, कुखुरालगायत पशुपन्छी आयातमा पूर्ण रूपमा रोक लगाएपछि तस्करीको माध्यमबाट सुरक्षा निकायको आँखा छलेर सिद्रा र अन्य विभिन्न प्रजातिका माछाको तस्करी बढिरहेको छ । लामो समयदेखि माछाको कारोवार गर्ने निलम सहनीले अहिले माछा तस्करीको सम्पूर्ण प्रवन्ध मिलाइरहेको बताइएको छ ।
बिहीबार बिहान भारतबाट अवैध रुपमा नेपाल भित्रयाएको ठूलो परिमाणमा तस्करीको सिद्रा माछा सशस्त्र प्रहरीले बरामद गरपछि यस्तो तथ्य खुलेको हो । सशस्त्र प्रहरी रानी बिओबीले तस्करीको १८ बोरो सिद्रा माछा विराटनगर १६ दरैयाबाट बरामद गरेको हो ।
प्रहरीले ६ सय ३० केजी सिद्रा बरामद गरेको थियो । जसको बजार मूल्य १ लाख ८९ हजार रहेको प्रहरीले जनाएको छ । बरामद गरेको सामान बिहीबार नै भन्सार कार्यालयमा बुझाइएका सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिनुभयो । ‘तस्करी गरि ल्याएको माछा ‘गस्तीमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो,’ एसपी पौडेलले भन्नुभयो, ‘प्रहरीलाई देख्नसाथ माछा छोडेर फरार भए । प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ ।’
कोरोनाको कारणले सरकारले भारतदेखि माछा, कुखुरालगायत पशुपन्छी आयातमा पूर्ण रुपमा रोक लगाएको छ । भारतको आन्ध्र प्रदेशबाट आयात हुने माछा यतिबेला तस्करी गरेर नेपाल ल्याइने गरेको छ । सशस्त्र प्रहरीले बरामद गरेको सिद्रा माछा विराटनगर र सुनसरीको इनरुवाका माछा व्यापारीले निलम मार्फत मगाएको अनुसंन्धानबाट खुलेको छ ।
सहनीले यसअघि पठाएको माछा पटक पटक प्रहरीले नियन्त्रणमा लिइसकेको छ । मोरङका तत्कालिन डिएसपी घनश्याम श्रेष्ठले विराटनगरको रोडशेष चौकबाट माछा बरामद गर्दा सहनीले प्रहरीले ५० हजार रुपैयाँ घुस मागेको आरोप लगाएकी थिइन् । तयतिबेला प्रहरीले माछा बरामद गर्दा व्यवसायीले सडकमा फालेर विरोध गरेका थिए भने प्रहरीले दुव्र्यवहार गर्ने चार जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । त्यसबेला प्रहरीले सहनीलाई पनि विपक्षी बनाएर मुद्दा चलाएको थियो तर उनी पक्राउ भने परिनन् ।
पक्राउ परेका अन्य चार जना जिल्ला प्रशासन कार्यालय मोरङले तोकेको धरौटि रकम तिरेर रिहा भएका थिए ।