५५ हजार नहुँदा गोल्डेन अस्पतालमा बन्धक

विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गरेको पैसा दिन नसकेको कारण सप्तरीको अग्रिसाइर कृष्णसवरण–६ का शिवचन्द सदा र उनकी श्रीमती मलियादेवी सदा बन्धक बनेका छन् ।

छिमेकी दिननाथ साहको दम्पत्तीको कुटपिटबाट सख्त घाइते भएका सदा दम्पत्ती स्थानीय अस्पतालमा उपचार नभएपछि विराटनगरस्थित गोल्डेन अस्पताल आएका थिए । १२ दिनसम्मको उपचार पछि ठिक भएपनि उनीहरुले उठेको बिल वापतको ५५ हजार रुपैयाँ रकम तिर्न नसक्दा बन्धक बनेका हुन् । राम्रोसँग नेपाली भाषा बोल्न नसक्ने उनीहरु अहिलेसम्म अस्पतालमै बन्धक भएर बसिरहेका छन्।

‘अस्पतालले गेटभन्दा बाहिर जानै दिँदैन,’ महिना दिनदेखि अस्पतालमै बन्धक बनाइएका शिवचन्दले मलिन स्वरमा दुःख बेसाए, ‘गार्डलाई भनेको छ रे, यिनीहरूले पैसा नदिएसम्म रोकेर राख्नु ।’

पहिले अस्पतालबाटै खानाको व्यवस्था गरिए पनि अहिले उनीहरूलाई खाना पनि दिइएको छैन। विराटनगरका केही सहयोगीले सदा दम्पतीलाई खाना खुवाइरहेका छन्।

‘यहाँ म अस्पतालभित्रै मागेर पेट पाल्छु, उता तीन छोरा भोकले छट्पटाइरहेका होलान्,’ सदाले भक्कानिँदै सुनाए । श्रीमती मलियादेवीले अस्पतालबाट बाहिर निकालिदिन अनुनय गरिन्।

राम्ररी नेपाली बोल्न नसक्ने उनले भनिन्, ‘गरिब छु भनेर उता कुट्यो, यहाँ अस्पतालले गरिब भनेर हेप्यो। मेरा बच्चा के गर्दै होलान् ?’ पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ माहुली खोलाको किनारमा सदा परिवारको झुपडी छ। उक्त झुपडीमा अहिले १२, ९ र ५ वर्षका तीन छोरा बसिरहेका छन् ।

उनले सरकारका मान्छेलाई भनेर अस्पतालबाट निकालिदिन आग्रह गरिन् । ‘दिनदिनै मान्छेले फोन गर्न थाले तर कसैले निकाल्ने कुरा गर्दैन,’ शिवचन्दले श्रीमतीको फोन खोस्दै झर्किए र फोन राखिदिए।

उनीहरूलाई पिट्ने दिननाथलाई कन्चनपुर प्रहरीले पक्राउ गरी म्याद थप्यो। सरकारी वकिलको कार्यालयले पीडितको तत्काल उपचार गराउन, पीडकले पैसा भर्पाइ गर्न र दोषी देखिएकी दिननाथकी श्रीमतीलाई समेत पक्राउ गर्न भन्यो।

तर, कन्चनपुर प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहले दिननाथकी श्रीमतीलाई पक्राउ गरेनन्। बरु उल्टै साउन १७ गते दुवै पक्षका मान्छेलाई भेला गराए।

भेलामा पीडितका तर्फबाट भाइ, तीन छोरा र गाउँका चारजना मान्छे आएको कन्चनपुरका स्थानीय अधिकारकर्मी एवंम सप्तरीको अवलौकिक दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक भोला पासवानले बताए।

‘दुवै पक्षलाई भेला गराइएको दिन म पनि पुगेको थिएँ,’ पासवानले भने, ‘त्यहाँ पीडित र पीडक पक्षका एक–एकजना मान्छे विराटनगर पुगेर अवस्था बुझ्ने र थप उपचार आवश्यक भए नभएको यकिन गरी पैसा दिएर आउने भन्ने सहमति भएको थियो। तर, मान्छे पुगेर आए पनि पैसा चाहिँ दिइएको रहेनछ।’

उनका अनुसार त्यसबेला अस्पतालको उचारवापत खर्च ५५ हजार रुपैयाँमात्र थियो। पीडित सदा दम्पती निको भइसकेका थिए। तर, अहिले अस्पतालको दैनिक बेड चार्जमात्रै ४ हजार ५ सय छ। दैनिक खर्च बढिरहँदा अस्पतालको बिल बढिरहेको छ। यता पीडकले पैसा तिरेका छैनन्।

‘२४ दिनको थुनापछि पीडक दिननाथ छुटेका छन्। उनले जेल बस्नुपरेपछि किन पैसा दिने भन्दै अड्डी कसेका छन् । त्यसैले सदा दम्पती अस्पतालमा थुनिएको थुनियै भए,’ पासवानले भने।

सप्तरीको कन्चनपुर इलाका प्रहरी कार्यालयका प्रमख डिएसपी नरेशकुमार सिंहले पीडकलाई सरकारी वकिलको कार्यालयको निर्देशनमा छोडिएको जिकिर गरे।

पीडितले अस्पतालमा बस्नुपरेको खबरबारे आफू जानकार रहेको भन्दै उनलाई कसरी घर फिर्ता गर्ने भन्नेबारे आवश्यक प्रक्रियाका लागि पहल गरिरहेको बताए।

यता, सदा दम्पतीलाई बन्धक बनाएको गोल्डेन अस्पतालका सञ्चालक सनातन मण्डलले निजी अस्पताल भएका कारण पैसा त तिर्नैपर्ने अड्डी लिए। ‘प्राइभेटमा आएपछि त पैसा तिर्नैप(यो नि, कि त सरकारीमा जानुपथ्र्यो,’ मण्डलले भने, ‘अहिलेसम्म पैसा दिन्न भनेका छैनन्, यदि पैसा नै छैन भनेका भए हामीले डिस्काउन्ट पनि गर्न सक्थ्यौं होला।’

उनले कन्चनपुर प्रहरी कार्यालयबाट बिल पठाइदिनु भन्ने फोन आएको हुँदा प्रहरीले हिसाब मिलाएपछि बिरामीलाई घर पठाइने बताए।

सदा दम्पतीको घटना थाहा पाएपछि प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिम मामिला एवंम कानुनमन्त्री हिक्मतकुमार कार्कीले अस्पताल प्रशासनलाई तत्काल बिरामी छाड्न निर्देशन दिएका छन्।

‘उपचार खर्च नहुँदा मानिसलाई अस्पतालमै बन्धक बनाउने काम त न्यूनतम मानवीय व्यवहारभित्र नै परेन,’ कार्कीले भने, ‘पहिला पीडितको रिहाइ हो, बाँकी उपचार खर्चबारे सरकारका सम्बन्धित निकायसँग कुरा गरिरहेका छौं ।’

गत साउन ५ गते नजिकको खोलाबाट ल्याएको पानीको निकासमा अवरोध गरेको भन्दै छिमेकी दिननाथ साहको दम्पतीले सदा दम्पतीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

मङ्गलबार, ३० भदौ, २०७७, रातीको १०:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर