लोड हुँदैछ...

मेनु

विद्युत प्राधिकरणको निमित्त प्रमुखमा नियुक्त लेखनाथ कोइराला को हुन् ?

विद्युत प्राधिकरणको निमित्त प्रमुखमा नियुक्त लेखनाथ कोइराला को हुन् ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुखमा लेखनाथ कोइराला नियुक्त भएका छन्। ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन्।

अहिले प्राधिकरणको माउ संस्थामा कार्यरत उपकार्यकारी निर्देशकहरुमध्ये वरिष्ठताका आधारमा सबैभन्दा सिनियर कोइराला प्राधिकरणको अर्थ निर्देशनालयका प्रुमख समेत हुन्।

यसअघि ऊर्जामन्त्रीले मन्त्रालयका सहसचिव नवीनराज सिंह र मधु भेटवाललाई निमित्त निर्देशक बनाउन पनि छलफल गरेका थिए। सिंह कार्यकारी निर्देशकका बलिया प्रत्यासी हुन्। त्यसैले उनलाई प्रतिस्पर्धामा सहभागी गराएर कार्यकारी निर्देशक बनाउने गरी निमित्तमा भने कार्यकारी निर्देशकको दौडमा नामै नसुनिएका उपकार्यकारी निर्देशक कोइरालालाई निमित्त दिएको मन्त्रालय स्रोतको भनाइ छ।

‘विगतमा कुलमान घिसिङले आफ्नो अनुपस्थितीमा पनि कोइरालालाई नै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने गरेका थिए। त्यसैले ऊर्जामन्त्रीले पनि वरिष्ठताका आधारमा कोइरालालाई नै निमित्तको जिम्मेवारी दिनुभएको हो,’ स्रोतले भन्यो।

निर्देशकको दौडमा रहेका व्यक्तिलाई निमित्त दिँदा विवाद हुने सम्भावना देखेपछि मन्त्री पुनले निर्देशकको दौडमै नरहेका कोइरालालाई निमित्त दिएर निर्णयलाई विवादीत बन्नबाट जोगाएका छन्।

कार्यकारी निर्देशकको टुङ्गो नलागेसम्म निमित्त कार्यकारीका रुपमा कोइरालाले जिम्मेवारी सम्हाल्ने छन्। उनलाई अर्को निर्णय नभएसम्मका लागि निमित्त तोकिएको मन्त्रालय स्रोतले जनाएको छ।

कार्यकारी निर्देशकमा सिंहसँगै वरिष्ठ उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि दौडमा छन्। त्यसैले उनीहरुलाई निमित्तको जिम्मेवारी नदिएको स्रोतको भनाइ छ।

को हुन् कोइराला ?

विसं २०२० मा भोजपुरमा जन्मिएका लेखनाथ कोइरालाले २०४५ सालमा सहायक लेखा अधिकृतका रुपमा विद्युत प्राधिकरणमा सेवा सुरु गरेका थिए । उनी चार्टर्ड अकाउन्टेन्ट (सीए) पनि हुन् ।

प्राधिकरणले नै आफ्ना कर्मचारीहरुमध्येबाट मनोनयन गरेर उनलाई चार्टर्ड अकाउन्टेन्ट अध्ययनका लागि पठाएको थियो । कोइरालाले भारतको इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स (आइसीएआई) बाट २०६४ सालमा सीए कोर्स पूरा गरेका हुन् । त्यसअघि उनले २०४८ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमबीए पनि गरेका थिए । कोइराला प्राधिकरणका तर्फबाट चिलिमे जलविद्युत, माथिल्लो तामाकोशी तनहुँ हाइड्रोपावर मध्य भोटेकोशी हाइड्रोपावर लगायत प्राधिकरणका सहायक कम्पनीहरु र नेपाल–भारत ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापित कम्पनी ‘पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड’ (४०० केभी) मा पनि संचालक समित सदस्य पनि छन् ।

– बिजमाण्डुबाट साभार

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।