कित्ताकाट पूर्ण रुपमा खुला गरिएको होइन : मन्त्रालय

भूउपयोग ऐनमा जग्गाको वर्गीकरण गरी कृषियोग्य जग्गाको अन्य प्रयोजनका लागि खण्डीकरण गर्न नपाउने व्यवस्था गरिएको हुँदा यसलाई कित्ताकाट खुला गरिएको भन्न नमिल्ने मन्त्रालयको स्पष्टोक्ति

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट नखोलिएको स्पष्ट पारेको छ ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको नभई थप व्यवस्थित र कानूनबमोजिम बनाउन खोजेको स्पष्ट गरेको हो ।

सर्वोच्च अदालतबाट कित्ताकाटको विषयलाई कानून बनाई व्यवस्थित गर्न आदेश भएको र अख्तियारले पनि भूउपयोग ऐन, स्थानीय सरकार सञ्चालन ऐनलगायत विषयलाई आधार मानेर व्यवस्थित गर्न भनेकोले त्यसलाई थप व्यवस्थित गर्न मात्र खोजेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

हाल लागू गरिएको भूउपयोग ऐनमा जग्गाको वर्गीकरण गरी कृषियोग्य जग्गाको अन्य प्रयोजनका लागि खण्डीकरण गर्न नपाउने व्यवस्था गरिएको हुँदा यसलाई कित्ताकाट खुला गरिएको भन्न नमिल्ने पनि मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मन्त्रालयले हाल जारी गरेको निर्णय ठूला व्यापारीका हितमा भन्ने विषय पनि तथ्यपरक नभएको भन्दै सर्वसाधारणको हितमा रहेको प्रष्ट गर्नुभयो ।

तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयको मिति २०७४ साउन २६ को मन्त्रिस्तरीय निर्णयबाट कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गरिएको थियो । यसै सन्दर्भमा मन्त्रालयले प्रस्तावित भूउपयोग नियमवाली जारी नहुञ्जेलका लागि जग्गाको कित्ताकाट सम्बन्धमा नेपाल सरकार मन्त्रिस्तरबाट यही भदौ १८ मा पूर्वनिर्णय बदर गरिएको हो ।

कृषियोग्य जमीनको गैरकृषि क्षेत्रमा रुपान्तरणले तीव्रता पाइरहेको वर्तमान अवस्थामा खेतीयोग्य भूमिको संरक्षण गर्न आवश्यक रहेकाले सोसम्बन्धी कानून नआउँदासम्मका लागि यस किसिमको व्यवस्था गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ । यस सम्बन्धमा व्यवस्थित गर्ने निर्णयलाई अतिरञ्जित ढङ्गबाट व्याख्या गरी, सम्बन्धित अधिकारी र मन्त्रीमाथि विभिन्न झुट र मनगढन्ते आरोप लगाई प्रकाशन भएका भ्रामक र कपोलकल्पित समाचारप्रति मन्त्रालयले दुःख व्यक्त गरेको छ ।

शुक्रबार, २६ भदौ, २०७७, साँझको ०६:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर