डिसेम्बर सम्मका लागि सोलु करिडोरको चौथो पटक म्याद थपियो

सोलुखुम्बु । विद्युत प्रशारण लाइनका लागि निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । सरकारले सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक पाँच महिना म्याद थपेको हो ।

सोलुखुम्बुमा उत्पादन हुने विद्युत बाहिर लैजान निर्माण गरिएको १३२ केभी प्रसारणलाइन विविध कारणले समयमै सम्पन्न हुन नसकेको आयोजना प्रमुख जनार्दन गौतमले बताउनुभयो । सोलु दूधकुण्ड नगरपालिका– ११ तिङ्लामा सवस्टेशन निर्माण भइसकेको छ तर काम सम्पन्न भएको छैन ।

सन् २०२० जुलाई १५ मा सक्ने शर्तमा तेस्रो पटक म्याद थप गरिएको भएपनि कोरोनाका कारण निर्माण प्रकृया अधुरै रहेको हो । सरकारले पुस १६ सममका लागि चौथो पटक म्याद थप गरेको प्रमुख गौतमले बताउनुभयो ।
आयोजनाको काम गर्न समस्या नभएपनि कामदार ल्याउन समस्या भएको उहाँको भनाइ थियो । भारतीय कामदार ल्याएर अहिले पनि काम भइरहेको छ । थप कामदार ल्याउन नसक्दा थप गरिएको समयमा पनि काम सम्पन्न गर्न गाह्रो पर्ने गौतमले बताउनुभएको छ ।

सिरहाको मिर्चैयादेखि तिङ्लासम्म ३०२ वटा टावर बनाउनुपर्ने भएपनि अहिलेसम्म २८१ वटाको फाउण्डेशनको काम सकिएको छ । चार महिना भित्र २१ वटा टावर बनाउनु चुनौतिपूर्ण रहेको आयोजनाले जनाएको छ ।

यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ४५ किलोमिटर मात्रै तार तानिएको छ । लामो समय सामुदायिक वनको विवादले गर्दा वन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोला २३.५ मेगावाटमा उत्पादन भएको विद्युत् खेर गइरहेको छ । अहिले ११ केभी प्रसारणलाइनमार्फत रुम्जाटार सव स्टेशनमा लगेर खपत गर्ने प्रयास गरिएपनि अझै तेब्बर विद्युत् खपत हुन नसकेको विद्युत आयोजनाले जनाएको छ । यस्तै सोलुखोलामानै निर्माणाधीनावस्थामा रहेको तल्लो सोलुखोला ८२ मेगावाटको काम भइरहेको छ ।

शुक्रबार, २६ भदौ, २०७७, दिउँसोको ०४:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर