अकूत सम्पत्ति कमाएको अभियोगमा विराटनगरका इन्जिनियर गुप्ताविरुद्ध मुद्दा

विराटनगर । तत्कालिन संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका इन्जिनियर काशीप्रसाद गुप्तासहित १३ जना विरुद्ध विशेष अदालतमा अकुत सम्पत्ती कमाएको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तबरले गुप्तासहितको १३ जनाको टोलीले १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ बराबरको सम्पत्ती कमाएको आरोपमा मुद्दा दायर गरेको हो ।

२०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा प्रवेश गरेका गुग्ताले २०७६ असार ५ गतेसम्म पदमा बहाल रहँदासम्म गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ ।

आयोगका अनुसार गुप्ताकोे वैध आय १ करोड ११ लाख ६९ हजार ९६२ रुपैयाँ मात्रै रहेको भएपनि रु १७ करोड ८४ लाख २६ हजार ४५९ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ ।

वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको रकमको स्रोत नखुलेको अख्तियारको भनाइ छ । आयोगले गुप्ताका आफन्तहरु अन्जुकुमारी महतो, उदितनारायाण प्रसाद रौनियार, चन्द्रेश्वर महतो, धिरजकुमार गुप्ता, प्रितीकुमारी गुप्ता, डा. रचनाप्रसाह साह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली रु १० करोड ४४ लाख ४३ हजार ७८३ बराबरको रकम लुकाई छिपाई राखेको पाइएको छ ।

– रासस

बिहिबार, २५ भदौ, २०७७, साँझको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर