आफ्नो हुलिया बदल्दै अपराध

विराटनगर । ख्याउँटे शरिर, झ्याप्प दारी भएपनि टाउँकामा कपाल छैन । सप्तरी घर भई विराटनगरको कञ्चनबारीमा डेरा गरि बस्ने २७ वर्षीय नन्दकिशोर साह विराटनगरमा संगठित अपारधको धन्दा चलाउने समूहमध्ये एक अभियुक्त हुन् ।

विराटनगरका व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै रकम असुल्ने साहले चोरी र अन्य अपराध हुलिया बदलेर गर्ने गरेको पाइएको छ ।

संगठित अपराधमा लागेका साहले हुलिया बदल्न २० हजार रुपैयाँमा नक्कली कपाल इटहरीबाट खरिद गरेर लगाएका थिए । अपराध कर्म गर्दा नक्कली कपाल खोलेर पाको उमेरको जस्तो देखिन्थे, उनी । अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकृतका अनुसार अपराधिक गतिबिधी गरेपछि नक्कली कपाललाई स्टयालको हेयरकट बनाएर युवा जस्तो बनेर उनी हिँड्ने गरेको पाइएको छ ।

पक्राउ परेका साहसहितको समूहले विराटनगरका दुई जना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै १०÷१० लाख रुपैयाँ चन्दा मागेको थियो । २५ भदौमा चन्दा मागेकोमा देवकोटाचौकस्थित गुट्खा, चालम, तेलको डिलर भएका व्यापारीले २ पटक गरि ५ लाख रुपैयाँ दिएका थिए । ती व्यापारीबाट असुली गरेको पैसा लिन नन्दकिशोर नै हुलिया बदलेर जाने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

अरुबेला नक्कली कपाल लगाएर बस्ने नन्दकिशोर व्यापारीलाई धम्की दिँदै असुलेको पैसा लिन नक्कली कपाल खोलेर तालु मात्र देखाएर पुगेका थिए । ज्यान मार्ने धम्की दिँदै व्यापारीबाट असुली गरेको पैसा लिन पहिलो पटक विराटनगरस्थित गुद्री बजारमा पुगेका उनले १ लाख र दोस्रो पटक नोबेल अस्पताल जाने नहरमा ४ लाख रुपैयाँ लिएका थिए ।

चन्दा मागेको बेला ब्यापारीले पैसा नदिएपछि मनोबैज्ञानिक रूपमा तर्साउन सो समूहले घरको पर्खालमा गोली पड्काएको थियो । प्रहरी नियन्त्रणमा २८ वर्षीय एलेक्स भन्ने रविन शर्मासँग गएर नन्दकिशोरले गोली हानेको खुलेको छ । त्यसबेलामा पनि नन्दकिशोर नक्कली कपाल खोलेर जाने गरेको प्रहरीले जनाएको छ ।

अपराध कर्ममा लाग्दा कसैले पनि नचिनोस् भनेर हुलिया बदल्ने गरेको साहले बयानको क्रममा प्रहरीलाई बताएका छन् । विराटनगरका दुई जना व्यापारीलाई ज्यान मार्ने धम्की दिदै पैसाँ असुली समूहका मुख्य नाइकेसहित ५ जनालाई प्रहरीले पक्राउ गरेपछि उनीहरु अहिले प्रहरी हिरासतमा छन् ।

प्रहरीले मोरङको कटहरी गाउँपालिका–२ आदर्शनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र भारतको बिहार राज्य सितामणी जिल्ला घर भइ विराटनगर जलजला मोडस्थित चाइना बजार कपडा पसलमा काम गर्ने २७ वर्षीय राजु साहलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरूलाई मोरङ प्रहरीले गत बुधबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको थियो ।

यो समूहका मुख्य नाइके अभिषेक राय हुन् । रायले व्यापारीहरूलाई फोन गरि ज्यान मार्ने धम्की दिँदै चन्दा असुल्ने गरेका थिए ।

मङ्गलबार, २३ भदौ, २०७७, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर