विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोनाबाट ज्यान गुमाउनेमध्ये १२ जना प्रदेश २ घर भएका हुन् । उनीहरुको प्रदेश १ का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रदेशमा मृत्यु हुनेमध्ये ११ महिला र ३२ पुरुष छन्। आइतबार र सोमबार मात्र प्रदेशमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर १० ७६ वर्षीय वृद्ध पुरुषको सोमबार बिहान मृत्यु भएको छ। भदौ ११ गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई शनिबार कोभिड अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा आइतबार साँझ बूढीगंगा गाउँपालिका–४ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। भदौ १९ गते उपचारका लागि अस्पताल भर्ना गरिएका उनको मृत्युपछि कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
आइतबार नै विराटनगर २ का ७० वर्षीय वृद्धको कोशी अस्पतालमा मृत्यु भएको थियो । यस्तै झापाको कन्काई–३ की ४५ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रदेशमा पहिलो मृत्यु साउन १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको थियो । सप्तरीको राजविराज नगरपालिका–१ घर भएका ७२ वर्षीय वृद्धको प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रदेशभित्रकै पहिलो मृत्यु साउन १४ गते भएको थियो । सुनवर्षी नगरपालिकाका ४५ वर्षीय संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
हालसम्म ज्यान गुमाउनेमध्ये २४ जना मोरङका छन् । मोरङको विराटनगरका १५ जना, बुढीगंगाका ४ जना, रंगेलीका १ जना, सुनवर्षीका १ जना, धनपालथानका १ जना, पथरीशनिश्चरेका १ जना र बेलबारीका १ जना छन् ।
मोरङपछि सुनसरीमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरु सबै धरानका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिका र कन्काईका १–१ जना संक्रमितको मृत्यु भइसकेको छ।